१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

१० माघ, काठमाडौं । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ । असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन ।

यो अहिले केही सस्तो भए पनि गत वर्ष यसै अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ ।

फाइल तस्बिर ।

कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले सबैभन्दा बढी महँगो सुकेको प्याज भएको छ । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाँमा कारोबार भएको प्याज अहिले प्रतिकेजीको ११५ रुपैयाँ थोकमा कारोबार भइरहेको खबर गोरखापत्र दैनिकमा छ । यस्तै बन्दाको मूल्य पनि अघिल्लो वर्ष यस अवधिको तुलनामा अहिले ३२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिमा प्रतिकेजी आठ-नौ रुपैयाँ थोकमा पाइने बन्दागोभी अहिले थोकमै प्रतिकेजीको ४० रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले आलु प्रतिकेजीमा ७० प्रतिशतसम्म महँगो भएको छ भने काउली ४० प्रतिशतसम्म भएको समितिले जनाएको छ ।

आलु पनि गत वर्ष यस अवधिको तुलनामा अहिले ७० प्रतिशतसम्मले महँगो भएको छ । प्रतिकेजी २७-२८ रुपैयाँ थोकमा कारोबार भएको आलु अहिले सो परिणामको आलु थोकमै ५० रुपैयाँभन्दा बढी छ । समितिका अनुसार सो अवधिमा प्रतिकेजी १२ रुपैयाँमा थोकमा किनबेच भएको सेतो मुला अहिले बढेर २५ रुपैयाँ, मटरकोसा ३५ रुपैयाँ केजीबाट बढेर ६५ रुपैयाँ, पाकेको फर्सी २२ रुपैयाँबाट बढेर ४२ रुपैयाँमा कारोबार भएको छ ।

उसो त नेपाल राष्ट्र बैंकले यही साता सार्वजनिक गरेको ५ महिनाको प्रतिवेदनमा तरकारीलगायत खाद्यवस्तुको मूल्य नौ दशमलव ७६ प्रतिशत महँगो भएको उल्लेख छ । चालू आवको पहिलो पाँच महिनामा नेपालमा समग्र महँगी ६ दशमलव ५५ प्रतिशतले बढेको पनि सोही प्रतिवेदनमा छ ।

सरकारले बजेट वक्तव्यमार्फत यस आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ९ दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ दशमल १० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०६:१९