१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

४ माघ, मार्तडी । कृषि ज्ञान केन्द्र बाजुराले सडक छेउछाउको जमिन विविध कृषि उत्पादनको लागि प्रयोग गर्ने भएको छ । सडक सुरक्षा, जमिनको उपयोग र कृषि उत्पादनका लागि सडक छेउको जमिनलाई प्रयोग गर्ने नीतिसहित केन्द्रले योजना अघि सारेको हो ।

पहिलो चरणमा जिल्लाको इकडी गाडदेखि मार्तडीसम्मको ४० किमि जमिन उपयोग गरिने कृषि प्रचार अधिकृत मीनप्रसाद जैसीले जानकारी दिए । उर्बर र मलिलो जमिन क्षेत्रमा उत्पादन हुने वस्तुको पहिचान गरी केरा र उखु खेती गर्ने गरी काम थालिएको उनले बताए ।

उक्त कार्यक्रमबाट जमिन सुरक्षित हुने र हरियाली पनि देखिनेछ । साथै बोटबिरुवा भएको स्थानमा पहिरोको जोखिम कम हुने हुँदा बहुउपयोगको नीति लिइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । स्याउदेखि, सिमीसम्म, आलुदेखि कोदोसम्मको बजार जिल्ला बाहिर विस्तार गर्न सफल ज्ञान केन्द्रले फेरि नयाँ योजना अघि सारेको हो ।

सडकनजिकै बस्ने स्थानीय बासिन्दाकै सहकार्यमा खेती गरिने बताइएको छ । स्थानीय कृषि समूह, कृषि सहकारी तथा गाउँ टोललाई साथमा लिएर उत्पादनमुखी र किसानलाई प्रत्यक्ष आयमूलक गतिविधि समेट्ने योजनासहित काम थालिएको कार्यालय प्रमुख गोविन्द सिँजापतिले बताए ।

उखु र केराजस्ता नगदेबाली सडक छेउछाउमै उत्पादन भए बिक्री गर्न सजिलो हुने र ठूलो बजारसम्म पुर्‍याउन नपर्ने हुँदा योजना सफल हुने ज्ञान केन्द्रको विश्वास छ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा पहिलोपटक यो कार्यक्रम सुरु गर्न लागिएको हो ।

राम्रो सम्भावना देखेरै यो कार्य गर्न लागिएको र यसका लागि आवश्यक बजेटसहित प्रस्तावना ज्ञान केन्द्रले माग गरेको कार्यालय प्रमुख सिँजापतिले बताए । ज्ञान केन्द्रले नयाँ र किसान लक्षित गतिविधि बढाउँदै लगेको छ ।

साँफे–मार्तडी सडकअन्तर्गत बाजुरा प्रवेश गरेपछि सडक दायाँबायाँतर्फ प्रायः सुक्खा अनि पहिरो जाने क्षेत्र बढी छ । त्यसको व्यवस्थापन र कृषि क्षेत्रको आकर्षणका लागि केन्द्रले सुरु गरेको अभ्यास सकारात्मक रहेको कृषि अगुवाको भनाइ छ । यस्ता गतिविधिले अन्य किसानलाई पनि केही पाठ सिकाउने विश्वास गरिएको छ ।

कम लागत र मिहिनेतमै उखु र केरा उत्पादन हुने गर्छ । कृषकको आम्दानी बढाउन र रोजगारीको सिर्जना गर्न अभियानका रुपमा परियोजना अघि बढाइएको हो । परियोजना सञ्चालन गर्न खोजिएको सडक क्षेत्र उखु र केराका लागि उर्वर भूमि मानिन्छ । ज्ञान केन्द्रले यो वर्ष उखु खेती गर्ने र अर्को वर्षबाट केरा खेती मौसमअनुसार लगाउने बताएको छ ।

बूढीगंगा र बडीमालिका नगरपालिकाका उखु रोप्न चाहने र उखु बेच्न चाहने दुवै कृषकलाई सम्पर्कमा आउन सूचनासमेत जारी गरिएको छ । यही माघ १४ गतेसम्म सम्पर्क राख्न सूचनामार्फत जानकारी गराएको सूचना अधिकारी जैसीले बताए । यस परियोजनामा एक हजार बढी किसानलाई प्रत्यक्ष सहभागी गराउने लक्ष्य राखिएको छ ।

अभियानमा सहभागी भएर उखु र केरा रोपौँ आम्दानीमा वृद्धि गरौँ, बाजुरा गरिबी र अभावको जिल्ला मात्रै होइन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने नारा परियोजनाअन्तर्गत तय गरिएको छ । –रासस

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार ०८:३९