लम्बियो हिउँदे वर्षा !
३ माघ, काठमाडौं । देशैभर पुन: हिउँदे वर्षा भएको छ । हिउँदे वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । चिसो पनि बढेको छ ।
काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा हिजो बेलुकैदेखि वर्षा भइरहेको छ । चिसोले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन् । चौथो चरणको हिउँदे वर्षाको यो शृंखला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारणले हो ।

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबारै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेकमा भारी हिमपात भइरहेको छ । मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले भने, “वर्षासँगै तराईमा लागेको हुस्सु भने हटेको छ ।”
हिउँदे वर्षा भए पनि यो वर्षापछि मात्र मौसम न्यानो हुनेछ । महाशाखाका अनुसार शुक्रबार दिनभर बदली रही देशका विभिन्न भेकमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेकमा भारी हिमपात हुनेछ । आउँदो २४ घण्टा चिसो हुने हुनाले आम सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि भने मौसममा सुधार आउने महाशाखाको अनुमान छ ।
वर्षाले केही किसानलाई भने राहत दिएको छ । दलहन बालीलाई राम्रो हुने किसानहरुको भनाइ छ ।
प्रकाशित मिति : January 17, 2020 at 7:02 am







