देवता नै असुरक्षित !
२८ पुस, काठमाडौं । कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट २०७२ मंसिर ११ मा २१ वटा मूर्ति चोरी भए । १७ वटा देपालगाउँको जंगलमा अलपत्र भेटिए, पाँचवटा अझै फेला परेका छैनन् ।
डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरबाट २०५७ कात्तिक २१ मा चार शिलासहित १८ वटा मूर्ति हराए । प्रहरी अनुसन्धान क्रममा १७ वटा फेला परे भने शिलायोगमायाको मूर्ति अझै फेला परेको छैन । कर्णालीमा देवीदवताका मूर्ति हराउने क्रम बढ्दै गएको छ । गिरोह नै सक्रिय भएर विभिन्न शक्तिपीठबाट मूर्ति चोर्ने क्रम बढेपछि कर्णालीका देवता असुरक्षित हुन थालेका हुन् ।

मूर्ति चोरीको विषयमा अनुसन्धान गर्न प्रहरीलाई हैरानी परिरहेको छ । हराएका थुप्र मूर्ति भेटिएका छैनन् । मूर्ति नभेटिएपति मठमन्दिरको अस्तित्व नै हराउने हो कि भन्ने चिन्ता पुजारीहरुको रहेको भन्दै कान्तिपुर दैनिकमा खबर प्रकाशन गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार दशकयता विभिन्न जिल्लाबाट ५१ थान ऐतिहासिक र पुरातात्तिवक मूर्ति हराइसकेका छन् ।
अनुसन्धानका क्रममा २५ वटा फेला परेका छन् भने २६ वटा भेटिएका छैनन् । जुम्लाबाट मात्रै २१ प्राचीन मूर्ति हराएका छन् । मुगुबाट दुईवटा चोरिएका छन् । २०४६ मा सोरु गाउँपालिकाको भिईबाट महेश्वरको प्राचीन बहुमूल्य मूर्ति चोरी भएको थियो भने २०५६ मा गुराको मूर्ति चोरी भएको मुगु प्रहरीले जनाएको छ ।
जुम्लामा चन्दननाथ र सिंजा क्षेत्रको कनकासुन्दरी मन्दिरका मूर्ति पुरातात्तिवक महत्त्वका हुन् । असुरक्षाका कारण कनकासुन्दरी मन्दिरका प्राचीन मूर्तिहरु पनि हराइरहेका छन् । महँगो मूल्यमा बिक्री हुने भएकाले मूर्तिचोरहरुले कर्णालीका मन्दिरमा आँखा गाडेको गुठ संस्थानका पूर्वअध्यक्ष गौरीचन्द आचार्य बताउँछन् ।
प्रकाशित मिति : January 13, 2020 at 6:55 am







