३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

अमेरिकामा हुने तेक्वान्दो प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी

–सुरज भण्डरी 

२७ पुस अमेरिका । अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ मा अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अमेरिकाको पोर्टल्याण्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजना र नेपालका पूर्वतेक्वान्दो प्रशिक्षक लभ गोर्खालीले मिचिगनमा चलाइरहनुभएको ज्योति एभरेष्ट तेक्वान्दो डोजाङको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यो प्रतियोगिताको १३औँ संस्करण हो । आइओएफटिसीले प्रत्येक दुई वर्षको फरकमा अन्तरराष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । संस्थाले एकपटक अमेरिकाभित्रका राज्यमा र अर्कोपटक अमेरिका बाहिरका देशमा प्रतियोगिता आयोजना गर्दै आएको संस्थाका संस्थापक निर्देशक नेपालका पूर्वतेक्वान्दो प्रशिक्षक दिवाकर महर्जनले बताउनुभयो ।

संस्थाले अमेरिकाको पोर्टल्याण्ड राज्यमा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङकङमा एक/एकपटक प्रतियोगिता आयोजना गरिसकेको छ । मिचिगनमा हुन लागेको १३औँ संस्करणमा नेपाल, अमेरिका, फिलिपिन्स, अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ देशका खेलाडीले भाग लिने प्रतियोगिताका संयोजक लभ गोर्खालीले जानकारी दिनुभयो । पुरुषतर्फ सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट र यसैगरी महिलातर्फ पनि सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट गरी ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने संयोजक गोर्खालीले बताउनुभयो ।

नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडीसमेत छनोट गरिसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत कात्तिक १ र २ मा चितवनको रत्ननगरमा भएको तेस्रो खुला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका ५ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका सीतापाइला डोजाङका शैलेशराज गिरी, कोटेश्वर डोजाङका रञ्जीत साउद, मैत्री डोजाङका दिनेश सुनार, सीतापाइला डोजाङकी आयशा तामाङ र कोटेश्वर डोजाङकी सुस्मिता मोक्तान रहेका छन् । छनोट भएका खेलाडीलाई जनही रु एक÷एक लाख पुरस्कारसमेत दिइएको संयोजक गोर्खालीले बताउनुभयो । झण्डै रु एक करोड २० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको १३औँ संस्करण गर्न १०५ सदस्यीय मूल आयोजक समिति बनाइएको आइओएफटिसीका संस्थापक निर्देशक दिवाकर महर्जनले बताउनुभयो ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार १९:२७