३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेपालका जेलमा विदेशी कैदीको संख्या १२८३

२६ पुस, काठमाडौं । नेपालका ७४ कारागारमा कुल कैदीबन्दीको संख्या २५ हजार ६ सय ७६ छ । जसमध्ये एक हजार दुई सय ८३ विदेशी छन् । विदेशी नागरिक भने ३१ कारागारमा राखिएका छन् ।

विदेशी कैदीबन्दीको संख्याअनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न देखिन्छन् । प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक रहेको खबर अन्नपूर्ण पोस्टमा छ । अधिकांश लागूऔषध ओसारपसार तथा बिक्रीमा संलग्न हुन् ।

भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्यान्ड, नाइजेरिया, साइबेरिया, भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्याण्ड, पोल्याण्ड, ब्राजिल, क्यानडा, स्वीट्जरल्याण्ड, आइभोरीकोष्ट, तान्जेनिया, फ्रान्स, सेरालियोन, गिनिया, लाइबेरिया, गाम्बिया र इरानका छन् ।

प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीका अनुसार हाल कारागारमा रहेका भारतीय नागरिक सुनतस्करी, अपहरण, लागूऔषध कारोबार, चोरी, डकैती, जबर्जस्तीकरणी लगायतका अभियोगमा छन् । भियतनाम, फिलिपिन्स, नाइजेरिया, जापान, थाइल्याण्ड, पोल्याण्डका कैदीबन्दी भने लागूऔषध ओसारपसारमा अभियोगमा जेल परेका कैदीबन्दी हुन् ।

उनका अनुसार जर्मन, क्यानडा, नेदरल्याण्ड, फ्रान्स र बेलायती नागरिक भने बालयौन दुराचारको अभियोगमा जेलमा छन् । मुख्यालयका अनुसार भुटानी नागरिक भने अवैध रूपमा नेपाल प्रवेश गरेको, सुनचाँदी तस्करी, डकैतीलगायत अभियोगमा जेलमा छन् । यसैगरी आइभेरीकोष्ट र ब्राजिलका नागरिक भने लागूऔषध कोकिन तस्करीको अभियोगमा जेलमा छन् ।

 

प्रकाशित मिति : January 11, 2020 at 7:15 am