२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सामुदायिक वनका अभियानकर्मी भण्डारीको निधन

२३ पुस, चौतारा । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पालाई सामुदायिक वनको उद्गमस्थलका रूपमा विश्वमा परिचित गराउने अभियानकर्मी नीलप्रसाद भण्डारीको ८२ वर्षको उमेरमा आज बिहान कोटेश्वरस्थित निवासमा निधन भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।  दुई वर्षदेखि प्रोष्ट्रेट ग्ल्यान्ड्स र फोक्सोको क्यान्सरबाट पीडित स्वर्गीय भण्डारीका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

विसं २०१७ सालबाट राजनीतिमा होमिनुभएका भण्डारीले तत्कालीन ठोकर्पा गाविसका प्रधानपञ्चको हैसियतले समुदायको सहभागिताले मात्र वन जङ्गलको संरक्षण सम्भव हुने मान्यता राखी नाङ्गा वन पाखामा वन जोगाउने अठोट गर्नुभएको थियो ।  सोही अठोटअनुरूप २०२९/३० सालमा गाँउदेखि चौताराको पात्लेपानी वन नर्सरीबाट आतेजाते १४ कोस पैदल बाटो हिँडेर गाउँलेहरुले डोकोमा बिरुवा बोकेर वृक्षरोपण गरेका थिए ।

आफूले रोपेको बिरुवा आफैँले हुर्काउने जिम्मा दिएपछि तीन घण्टा टाढाबाट गाग्री र टिनमा बोकेर ल्याएको पानी हालेर गाउँलेले फागुन चैतको सुक्खा मौसममा पनि बिरुवा हुर्काएका थिए ।यसरी ठोकर्पा (हाल सुनकोशी गाउँपालिका–१) लाई सामुदायिक वनको उद्गमस्थलको रूपमा परिचित गराएबापत जनस्तरमा स्वर्गीय भण्डारी र कर्मचारीस्तरबाट तत्कालीन सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत डा तेजबहादुर सिंह महतलाई नेपाल सरकारले अभियानकर्मी घोषणा गरेको थियो ।

विसं २०३० साउन २५ गते बाट विधिवत्रूपमा शुरुआत गरेबापत २०७३ सालदेखि प्रत्येक वर्षको साउन २५ गते लाई सामुदायिक वन दिवस मनाउने निर्णय गरिएको हो । नेपाल सरकारबाट ठोकर्पामा सामुदायिक वन अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र खोल्ने निर्णय गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ ।

प्रकाशित मिति : January 8, 2020 at 2:19 pm