६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

कौडा गीतमा छमछमी नाचे चिनियाँ पर्यटक


२२ पुस, मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । जसअन्तर्गत गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलामा पर्यटकलाई स्वागत कार्यक्रम आयोजना गरेका थिए । पर्यटकलाई स्वागत गर्न विभिन्न सांस्कृतिक झाँकीसहित फूलको माला लिएर बसेको देखेपछि माइक्रो बसमा आएका चिनियाँ पर्यटक स्वतःस्फूर्तरूपमा ओर्लिए । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उनीहरुलाई फूलको माला लगाइदिएर स्वागत गर्नुभयो ।

स्वागतपश्चात् खुशी भएका चिनियाँ पर्यटक ३० मिनेटजति कौडा गीतमा नेपालीसँगै छमछमी नाचे । अध्यक्ष गुरुङले गाउँपालिकाको पर्यटकीयस्थल र यहाँको जनजाति र सीमान्तकृत चेपाङ समुदायका बारेमा जानकारी दिँदै इच्छाकामनामा भ्रमण गर्न आग्रह गर्नुभयो । चिनियाँ पर्यटकले सामूहिक फोटो खिचेर धन्यावाद पनि दिए । विभिन्न देशबाट आएका सयौँ पर्यटकलाई स्वागत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियानअन्तर्गत गाउँपालिकाले पर्यटकलाई स्वागत गरिएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ‘भिजिट इच्छाकामना’ अभियान सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समितिसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार १३:०९