नेपाल भ्रमण वर्षको सुरुवातसँगै दाेलखाकाे शैलुङ्गमा हाेमस्टे तालिम सुरु
२२ पुस, दोलखा । दोलखा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ्गमा नेपाल भ्रमण वर्षको सुरुवातसँगै होम स्टे तालिम सुरु भएको छ । शौलुङ्ग गाउँपालिका दोलखाको आयोजनामा सात दिन सम्म संचालन हुने तालिममा होम स्टे संचालनको प्रक्रिया, अतिथि सत्कार, स्थानिय परिकारहरुको निर्माण, स्थानिय पर्यटकीय स्थलहरुको प्रवद्वन तथा सांस्कृतिक गतिविधिको बारेमा तालिम दिने प्रशिक्षक भुमराज तिवारीले बताउनु भयो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै शैलुङ्ग गाँउपालिकाको प्रमुख भरत दुलालले शैलुङ्गको पर्यटन विकासमा होम स्टेको संचालनपछि धेरै सम्भावनाको उजागर हुनुको साथै यसलाई अर्गानिक गन्तव्यको रुपमा प्रचारप्रसार गर्नुपर्ने बताउनु भयो । स्थानीय उत्पादनको बजारीकरणसँगसँगै स्थानिय स्तरमै रोजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने बताउँदै होमस्टेको प्रचारप्रसारमा गाउँपालिकाले साझेदारीमा काम गर्न चाहेको बताउनु भयो ।

गाँउपालिकाकी उपप्रमुख लालमाया योञ्जनले शैलुङगलाई राष्टिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन होम स्टे राम्रो माध्यम हुने भएकोले होम स्टे संचालनमा अनुदान दिन समेत तयार रहेको बताउनु भयो । तालिम कार्यक्रममा मन्तव्य राख्दै पर्यटन व्यवसायी फणीन्द्र पनेरुले नमुना पर्यटकीय होम स्टेको रुपमा विकासको लागि पहल गर्नुपर्ने बताउनु भयो । तालिम कार्यक्रममा शैलुङ्ग गाउँपालिकाका वडा अध्यक्षहरु क्रमश ३,५ र ६ का ध्रुबकुमार श्रेष्ठ, किरण बस्नेत, राजु खड्काले होम स्टे संचालनमा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । तालिम कार्यक्रममा ४० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 10:45









