२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

मध्यपहाडी लोकमार्गको अलपत्र काम शुरु

–खेमराज गौतम

१८ पुस, गलकोट । राष्ट्रिय गौरवको आयोजनामध्येको एक पुष्पलाल मध्यपहाडी लोकमार्गको अलपत्र बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु भएको छ । जिल्लावासी नागरिकको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको विशेष पहलपछि लोकमार्गको कामले धेरै महिनापछि गति लिन थालेको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण असारभित्र कालोपत्र गर्ने भनिएको लोकमार्गमा तीन महिनादेखि काम ठप्प भएको थियो । बागलुङ बजारको उपल्लो चौरदेखि बिहुँको घोडाबाधेसम्मको २५ किलोमिटर सडकको दुई खण्ड बनाएर निर्माण जिम्मा दिए पनि दुवै खण्डको काम अलपत्र बनेको थियो ।

दुर्गम गाउँको अधिकांश भाग कालोपत्र भइसक्दासमेत बजार आसपासकै खण्डमा कालोपत्र हुन नसक्दा यात्रु तथा त्यस आसपासका स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको छ । ट्र्याक खुलेको २० वर्ष बितिसक्दा पनि सडक कालोपत्र नहुनु चरम लापर्वाही भएको भन्दै नागरिक अगुवाले सामाजिक सञ्जालमार्फत ठेकेदार हराएको प्रतिकात्मक तस्बिरसहित दबाव अभियान चलाएका थिए । यसका साथै यस क्षेत्रबाट निर्वाचित सांसद डा सूर्य पाठक, देवेन्द्र पौडेल, सामाजिक अभियन्ता खिमानन्द कँडेल, अधिकारकर्मी राम शर्मा लगायतले निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई तत्काल काम शुरु गर्न प्रत्यक्ष भेटघाटसहित दबाब दिँदै आउनुभएको थियो ।

सरकारले ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको लोकमार्गका निर्माण कम्पनीलाई २०७६ जेठ २३ गतेसम्म काम नसके कालोसूचीमा राख्ने नयाँ व्यवस्था गरेपछि ठेकेदार कम्पनी फिल्डमा आउन थालेका हुन् । काम छिटो सक्न बागलुङ नगरपालिका–४ ओढारचौरमा वैकल्पिक क्रसर राख्ने भनिए पनि स्थानीयवासीको अवरोधपछि अर्को स्थानमा राख्न लागिएको छ । ओढारचौरबाट कच्चापदार्थ निकालेर बानपा–३ खहरे नजिकै क्रसर राख्न लागिएको र बिहुँ खण्डमा पनि वैकल्पिक क्रसर स्थापना गर्न लागिएको निर्माण कम्पनीले बताएका छन् ।

बागलुङदेखि घोडाबाँधेसम्मको दुई खण्डमा नै अहिले नाली निर्माण गर्ने, पर्खाल लगाउने, कल्भर्ट निर्माण गर्ने जस्ता काम शुरु भइरहेको मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । “मैले केही दिनअघि मात्र फिल्ड भिजिट गरेर आएको छु”, आयोजना प्रमुख थापाले भन्नुभयो, “अझै कामको गति बढाउन आवश्यक छ, ताकेता गरिरहेको छु ।”

थापाका अनुसार, बिहुँ खण्डको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले काम अगाडि बढाएका कारण म्याद थप गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ । यस्तै उपल्लाचौरदेखि बिहुँसम्मको १२ किलोमिटर सडक जिम्मा पाएको सिद्धिसाई कन्ट्रक्सनको यही माघमा म्याद सकिँदैछ । कामले गति लिए निर्माण कम्पनीको म्याद थपिने तर काम सुस्त भए कारवाही गर्ने आयोजना प्रमुख थापाले बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती, निर्माण सामग्रीको अभाव, मुआब्जा विवादलगायतका कारण कालोपत्रमा ढिलाइ हुँदै आएको छ । लोकमार्गको कूल एक हजार ७७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङ घोडाबाँधे २५ किमी र निसीखोला खण्डमा २५ किमी सडकमात्र कालोपत्र गर्न बाँकी छ । निसीखोलाको दुई खण्डमा असार मसान्तसम्म कालोपत्र हुने गरी काम अगाडि बढेको छ ।

प्रकाशित मिति : January 3, 2020 at 5:49 pm