अब घरधनीले अनिवार्य रूपमा भाडामा बस्नेकाे नियमित अभिलेख राख्नुपर्ने
१५ पाैष, काठमाडौँ । अब घरधनीले भाडामा बस्नेकाे नियमित अभिलेख राख्नुपर्ने भएकाे छ । सरकारले घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि भाडामा बस्नेकाे विवरण संकलन गर्नुपर्ने नियम बनाउने भएकाे हाे । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

बैठकले काठमाडाैँसहित देशका मुख्य शहरमा घर भाडामा लिएर अपराधिक गतिविधि हुने गरेको भन्दै घरधनीलाई भाडामा बस्ने व्यक्ति/संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय गरेकाे जनाइएको छ । घरधनीले भाडामा बस्नेको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
बैठकले यसअघि स्वेच्छिक रुपमा डेरावालाको विवरण संकलन गरिँदै आएको भएता पनि अब अनिवार्य रूपमा घर भाडामा बस्ने र छाड्ने दुवैको नियमित र अद्यावधिक अभिलेख राख्न प्रहरीलाई समेत निर्देशन दिने निर्णय भएको जनाइएको छ ।
प्रकाशित मिति : December 31, 2019 at 1:17 pm









