बलात्कार अभियोगमा एउटा कृष्णबहादुर सदरखोर पुगे अर्का ३ लाखमै छुटे
१५ पाैष, काठमाडाैँ । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अर्थात कृष्णदास रु तीन लाख धरौटीमा सोमबार रिहा भएका छन् । आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई धरौटीमा रिहा गरिएको हो । गिरीको मुद्दा जिल्ला अदालत इनरुवा सुनसरीमा दुई दिनसम्म चलेको थुनछेक बहस सकिएपछि अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।
जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई रु तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । सिद्धबाबाको मुद्दामा थुनछेक बहसका लागि न्यायाधीश बीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेञ्चमा परेको थियो ।

काठमाडौँबाट चतराधाममा रहेको सिद्धबाबा भनिने गिरीको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते आफूलाई जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएकी थिइन् । सिद्धबाबा गिरीको विरुद्धमा प्रहरीमा मुद्दा दर्ता भएपछि मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको सघन उपचार कक्षमा भर्ना भएका थिए । भर्ना भएकै बेला सिद्धबाबा गिरीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले मङ्सिर १६ मा पक्राउ गरेको थियो ।
यसअघि यस्तै गरी बलात्कारको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा जिल्ला र उच्च अदालतको अादेशबाट सदर खोर पुगेका छन । तर उस्तै मुद्दाका अभियुक्त कृष्णबहादुर गिरी भने तीन लाखमै जेल जानबाट जोगिएका छन । जिल्ला अदालत सुनसरीको यस्तो अादेशपछि धेरैले सामाजिक सञ्जालमा न्याय पनि न्यायाधीशपिच्छे फरक हुने रहेछ भन्दै अाश्चर्य प्रकट गरिरहेका छन ।
प्रकाशित मिति : December 31, 2019 at 7:30 am









