तमु ल्होसार : मुसा वर्षको स्वागत
१५ पुस, काठमाडौं । आज ‘तमुल्होसार’ । नयाँ वर्षका रुपमा यो पर्वलाई गुरुङ समुदायले हर्सोल्लासका साथ मनाउँदै छ ।
प्रत्येक वर्ष पुस १५ मा गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षको स्वागतमा ‘तमुल्होसार’ पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
यसवर्ष गएराति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङको भनाइ छ ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको हो ।
यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको छ । ल्होसार पर्वका अवसरमा आज अपराह्न आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने तयारी छ ।
यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायतले पनि सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
प्रकाशित मिति : December 31, 2019 at 7:15 am







