१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुनको भाउ वर्षदिनमा १४ हजार रुपैयाँले बढ्यो

१५ पुस, काठमाडौं नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार ८ सय रुपैयाँले बढेको छ । छापावाल सुन सोमबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भयो । अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ थियो । त्यो महिनामा यसको अधिकतम मूल्य ६० हजार ७ सय रुपैयाँ कायम थियो ।

गत असोजमा सुनको मूल्य बढेर ७३ हजार छ सय रुपैयाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अबको केही दिनमा नयाँ रेकर्ड बनाउने संकेत देखिएको छ । सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण मात्र होइन । अन्तर्राष्ट्रिय बजारमै बढेको हो ।

अघिल्लो वर्ष यसै अवधिमा सुन प्रतिऔँस करिब १२ सय अमेरिकी डलर कायम थियो । सोमबार भने एक हजार ५१२ डलरभन्दा बढीमा पुगेको छ । सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि सबैको भाउ धेरै बढेको बुझ्न सकिन्छ । नेपाली बजारमा अहिले अमेरिकी डलरको भाउ ११४.४८ रुपैयाँ पुगेको छ ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । गत वर्ष यही अवधिमा प्रतितोला ७ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य सोमबार भने ८ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार ०६:३९