सानो होसियारी, ठूलो जोखिमबाट बचाउँछ
१४ पुस, काठमाडौं । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्साको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास चुहिएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ ।
बालाजुकी रुजा आचार्यले तरकारी पकाउन प्रेसरकुकरमा तेल हालिन् । त्यही समयमा श्रीमानको फोन आएपछि उनी त्यसैमा व्यस्त भइन् । भान्सामा त तेल डढेर आगो बल्न थालिसकेछ । हतारहतार आगो निभाउन कपडाले हानिन् तर आफूतिर नै आयो, त्यही समय घरमा पालेको कुकुरले नतानेको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।

उनी भन्छिन्, “आगो लाग्दा केही वस्तुले हानेर आगो निभाउन खोज्नु गल्ती रहेछ । पछि ग्यासको रेगुलेटरको स्विच बन्द गरेँ । आगो निभ्यो तर नयाँ प्रेसरकुकर डढेर कालो बन्यो । सामान्य कुरामा ध्यान नदिँदा झन्डै ठूलो दुर्घटना भयो ।”
यस्तै बसुन्धराकी सुशीला पन्तले दूध तताउँदै बच्चा पढाउन थालेकी थिइन् । भान्साको काम बिर्सिइन् । त्यसैबेला दूध उम्लेर भाँडा पूरै कालो भइसकेको थियो । उनी भन्छिन्, “हतारहतार पानी छ्यापें तर ग्यास भने निभाउन भुलेछु । ग्यास चुलो पानीले निभेका कारण पत्तै भएन । सानो छोराले ग्यासको रेगुलेटर बन्द गरेर सबै झ्यालढोका खोलेपछि ग्यासको गन्ध अलि हरायो ।”
यस प्रकारका घटना दैनिकजस्तो हरेक घरमा भई नै रहेको पाइन्छ । धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्सामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताए । ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगो लाग्ने गर्छ । सानो हुँदा नै सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट रोकथाम हुने खबर गोरखापत्र दैनिकमा छ ।
भान्सामा खाना पकाउन जाँदा सकेसम्म आगोले तुरुन्तै टिप्ने लुगा प्रयोग गर्नुहुँदैन । ग्यास लिकेज भएको हो भने सामान्य तन्नाको माध्यमबाट निभाउन सकिन्छ । लिकेज भएको सिलिन्डर कहिले पनि पड्किँदैन, त्यसैले त्यसलाई प्लास्टिकको बाल्टिनले छोप्नुपर्छ, जसले गर्दा अरू ठाउँमा आगोले टिप्न सक्दैन ।
प्रकाशित मिति : December 30, 2019 at 6:38 am







