देशैभर जाडो बढ्यो, विद्युत् माग उच्च
१३ पुस, काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो ।

आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर इन्डक्सनजस्ता उपकरण चलाउन चाहँदा विद्युत् माग उच्च रूपले बढेको खबर गोरखापत्र दैनिकमा छ । हिउँदका समयमा विगतमा तराई क्षेत्रमा कम माग हुन्थ्यो तर यो वर्ष त्यहाँको प्रवृत्ति फेरिएको छ ।
प्राधिकरणका अनुसार खपत तराईमा पनि खासै घटेको छैन । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार २०७५ पुस ११ गते साँझभन्दा ०७६ पुस ११ मा ११२ मेगावाट विद्युत् माग बढी भयो । जाडो लागेसँगै शुक्रबार नै सबैभन्दा धेरै देशभर १३३८ मेगावाट विद्युत् माग रेकर्ड भएको छ । यसअघि लक्ष्मीपूजाका दिन एक हजार ८९ मेगावाट रेकर्ड भएको थियो ।
प्राधिकरणमा लोड डिमान्ड औसतमा २५ प्रतिशतले बढेको छ । बढ्दो मागको हिस्सा काठमाडौँ उपत्यकाको मात्र ४० प्रतिशत छ । माग बढी हुँदा प्राधिकरणको स्थानीय स्तरका वितरण प्रणालीले थेग्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको हो ।
शुक्रबार मात्रै राजधानीको बानेश्वर क्षेत्रमा ३० एमभीए र स्युचाटार क्षेत्रको १५ एमभीएका ट्रान्सफर्मर जल्दा प्राधिकरणले तत्काल नयाँ जडान गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुनै स्थान विशेषमा एकाएक माग उच्च हुँदा स्थानीय स्तरमा यस्ता समस्या आएका हुन् ।
जाडो बढेसँगै विद्युत् माग बढ्दा विद्युत् नपुगेर आपूर्ति रोकिएको होइन । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार तत्काल १५ सय मेगावाटभन्दा धेरै विद्युत् आपूर्ति क्षमता प्राधिकरणसँग छ । उच्च माग (पिक डिमान्ड)अनुसार आपूर्ति गर्न वितरण प्रणाली सुधार तीव्र भइरहेको उनको भनाइ छ ।
ग्यासको पनि माग बढ्यो
देशभर बढेको चिसोसँगै एलपी ग्यासको माग पनि बढेको छ । चिसोमा हिटर ताप्ने, पानी तताउने र कोठा तातो बनाउनेलगायतका गतिविधि बढेपछि ग्यासको माग बढेको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार चिसो बढेपछि १२ देखि १५ प्रतिशत माग वृद्धि भएको छ । निगमले पनि माग बढेको जनाएको छ । निगमका निर्देशक दीपक बरालले भने, “चिसो बढेपछि तीन हजार टन ग्यासको माग बढेको छ, अझै बढ्ने सम्भावना देखेका छौँ, चिसोमा ग्यासको प्रयोग बढी हुने भएकाले माग बढेको हो ।”निगमले मासिक ३७ हजार टन ग्यास आपूर्ति गर्छ तर गत महिनामा ४० हजार टन ग्यास आयात गरेको छ । माग बढेकाले आपूर्ति बढाइएको निगमले जनाएको छ ।
नेपाल आयल निगमका अनुसार नेपालका ४० प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दै आएका छन् । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पछिल्लो समय ग्यास प्रयोगकर्ता बढेको बताए । गाउँघरमा पनि ग्यास प्रयोग हुन थालेको छ ।
प्रकाशित मिति : December 29, 2019 at 6:50 am







