२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

नाउँ फेर्दै, मौलिकता मास्दै


१२ पुस, काठमाडौं हाँडीगाउँ । पुरानो उक्ति छ- ‘कहीं नभएको जात्रा हाँडीगाउँमा ।’ तर यसको पुरानो नाम अर्कै थियो । बदलिएर कसरी हाँडीगाउँ हुन पुग्यो, धेरैलाई थाहा नहुन सक्छ ।

संस्कृतिविद् हरेराम जोशी भन्छन्, ‘कुनै समय धोबीखोलानजिकै फाँटमा अण्डी जातको धान प्रशस्त उत्पादन हुन्थ्यो । नेवार समुदायमा पाहुना आउँदा सोही धानको भात खुवाउने चलन थियो । त्यसले उक्त क्षेत्रलाई अण्डीग्राम भनिन्थ्यो ।’ उनका अनुसार हाँडीगाउँको प्राचीन नाम अण्डीग्राम भएको १२ औं शताब्दीको अभिलेखबाट पत्ता लागेको छ । इटालीका पुरातत्वविद्ले गरेको अध्ययनबाट यो तथ्य भेटिएको जोशीले बताए । टोलमा विष्णु मन्दिर रहेकाले हरिग्राम पनि भनिन्थ्यो । बदलिँदै, बिग्रंदै यो हाँडीगाउँ हुन पुग्यो ।

राजधानीका थुप्रै ठाउँका मौलिक तथा स्थानीय नामको इतिहासै मेटिने गरी परिवर्तन भइरहेको बताउँछन् संस्कृतिविद् जोशी । कुनै ठाउँको नाम जनजिब्रोलाई सजिलो हुने गरी परिवर्तन गरिएको छ । कुनैको नाम अपभ्रंश भई परिवर्तन भएका छन् । कतिपय ठाउँको नाम राजनीतिक व्यवस्था परिवर्तन हुँदा दस्ताबेजबाटै हटाइएका छन् ।

काष्ठमण्डपबाट काठमाडौं नामकरण गरिएको धेरैको बुझाइ छ । काष्ठमण्डपकै नामबाट श्री काष्ठमण्डपे, श्री काष्ठमण्डप पुरी, काष्ठमण्डप नगर अनेक नाम राखिएका छन् । यस क्षेत्रको स्थानीय नाम येँ हो । नेपालभाषामा अहिले पनि येँ भनिन्छ । ललितपुरको नेवारी नाम यलः हो । पाटनढोकालाई यलः ध्वखाः भनिन्छ । भक्तपुरको ख्वपः, कीर्तिपुरको किपू, बुंगमतीको बुंग मौलिक नाम हुन् । मौलिक नाम राख्नुका कारण छन् । परिवर्तित नामले कुनै पहिचान नबोकेको संस्कृतिविद् जोशी बताउँछन् ।

जोशीका अनुसार भक्तपुरको मौलिक नाम खृपुङग्राम अर्थात् ख्वपः हो । ललितपुरको ललितपत्तन, नक्सालको नीलीशाला, पनौतीको पुण्यवती र बनेपाको पुरानो नाम बन्दिकापुर हो ।

कुनै बेला अहिलेको नक्सालमा एउटा ढुंगेधारा थियो । त्यसलाई नीलीशाला भनिन्थ्यो । त्यसैबाट अपभ्रंश भएर नक्साल नामकरण गरिएको भनाइ जोशीको छ ।

बुंगायुमीबाट बुंगमती नाम रह्यो । बुंगा भनेको पानी जम्मा हुने खाल्डो परेको ठाउँ हो । १३ सय वर्ष पुराना अभिलेखले उक्त ठाउँको नाम बुंगायुमी भएको देखाउँछ । बंगा क्षेत्रमा धेरै भमरा पाइन्छ । रातो मच्छिन्द्रनाथलाई तान्त्रिक विधिद्वारा भमरा बनाई कलशमा बन्द गरेर नगर प्रवेश गराउने चलन कायमै रहेको खबर अन्नपूर्ण पोस्टमा छ ।

चारैतिर खोलाले घेरेको ठाउँ भएकाले भक्तपुरलाई ख्वपः भनिएको हो । पुण्यवती नदीका नामबाट पनौती भयो । टुँडिखेलको नाम कुनै समय तिंख्यः थियो । हालको माइतीघर मण्डलाको नाम फिब्वः ख्यः हो ।

सजिलोका लागि परिवर्तन भएका नाममा लेम्बटिद्रङ-लेले, नालङाम-नाला, तिप्रक्वछें-सुकुलढोका, शङ्गाग्राम-साँगा हुन् । उपत्यकाका थुप्रै चोक तथा टोलका नामसमेत समयअनुसार परिवर्तन भएका छन् । जसमा सुतिग्ल-सौगल, चोकनमगुंगी टोल- चिकंमुगल टोल, ठानिगल-टंगल आदि ।

आधुनिक नाम राख्ने प्रचलनले ठाउँको पहिचान मेटिएको छ । संस्कृतिविद् जोशीका अनुसार यसको एउटा उदाहरण काठमाडौंको खिचापोखरी हो । राणाकालसम्म त्यहाँ पोखरी थियो । स्थानीय त्यहाँ मुख धुन जान्थे । नेपालभाषामा अनुहारलाई ‘खे’ र धुनुलाई ‘चा’ भनिन्छ । मुख धुने पोखरी भएकाले उक्त स्थानलाई ‘खेचा पुखू’ भनिन्थ्यो । अहिले खिचापोखरी भनिन्छ ।

वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः ले आधुनिकीकरणसँगै काठमाडौंमा धेरै स्थानको नाम मेटिँदै गएको भन्दै चिन्ता जनाए । ‘पश्चिमी प्रभावसँगै काठमाडौंको मौलिकता मासिँदै गएको छ,’ उनले भने, ‘नेपाल चिनाउन काठमाडौंसँग अब केही बाँकी छैन ।’ विकासका नाममा सबै पुराना सम्पदा मेटाउँदा मौलिक नाम मेटिएको भनाइ ग्वंगः को थियो ।

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ आधुनिकीकरणसँगै मौलिक पहिचान जोगाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि ठाउँको नाम त्यहाँको अस्तित्वसँग जोडिएको हुन्छ । बस्तीको पहिचान मेटाएर नाम परिवर्तन गर्दा ठाउँको मौलिकता गुमेको छ ।’

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०७:१७

https://srdb.com.np/