मनाङको तापक्रम माइनस १० डिग्री
११ पुस, मनाङ । चिसो बढेसँगै मनाङको तापक्रम माइनस १० डिग्री सेल्सियस पुगेको छ । चिसोले यहाँका बासिन्दा बेंसी झर्ने क्रम जारी छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीय बासिन्दा भने घरभित्रै बस्न बाध्य छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेको र बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको जानकारी दिए । उनका अनुसार मुहान जमेर धारोमा खानेपानी आएको छैन, मानिस घरभित्र बस्न बाध्य भएका छन् । माथिल्लो भेकमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् ।
थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ । पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताइन् । उनका अनुसार तल्लो भेकमा समेत अधिकांश मानिस जिल्ला छाडिसकेका छन् । –रासस
प्रकाशित मिति : December 27, 2019 at 6:03 am







