२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

भोलि खण्डग्रास सूर्यग्रहण

९ पुस, काठमाडौं भोलि (बिहीबार) बिहान ८ बजेर ४३ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । काठमाडौँमा बिहान ८ बजेर ४३ मिनेट, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटबाट सूर्यग्रहण लागेको देखिनेछ ।

काठमाडौँ र महेन्द्रनगरबाट ३९ प्रतिशत एवं भद्रपुर, झापाबाट ३६ प्रतिशत सूर्यग्रहण लाग्ने जानकारी बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले दिए । सङ्ग्रहालयबाट टेलिस्कोपको सहायताद्वारा सूर्यग्रहणको अवलोकन प्रत्यक्ष रूपमा सर्वसाधारणलाई गराइने व्यवस्था मिलाएको जानकारी पनि उनले दिए । नेपालबाट बिरल छाया र खण्डग्रास मात्र देखिनेछ । बिरल छाया सूर्य ग्रहण लाग्दा सुरुमा परेको छाया हो र यसलाई सामान्य रूपमा देखिँदैन ।


डा. शर्माका अनुसार सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर कदापि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रने सम्भावना रहन्छ ।

साथै एक्स रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्ब अवलोकन गर्नु हुँदैन । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चस्माबाट यसको अवलोकन गर्नु हुँदैन । सूर्यग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त हुन सकेको छैन ।

पृथ्वीको केही भागको करिब १०० किमिको ब्यान्डबाट वलयाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । अर्थात् चन्द्रमाको छायाको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिन जाने छ । यसलाई ‘रिङ अफ फायर’ पनि भनिन्छ ।

यस्तो देखिने स्थानहरू साउदी अरबबाट सुरु भएर कतार, यूएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इन्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुने छ । तर बिरल छाया भने पूर्वी युरोपका केही भाग, एसियाका अधिकांश भाग (केही उत्तरी भागबाहेक), अस्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने खबर गोरखापत्र दैनिकमा छ ।

वलयाकार सूर्यग्रहण काठमाडौँबाट दृष्टिगत हुने छैन तर खण्डग्रास सूर्यग्रहणको रूपमा अवलोकन गर्न सकिन्छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ । सूर्यग्रहण केवल चन्द्रमाको ‘न्यून मुन’ फेजमा मात्र लाग्न सम्भव हुन्छ । खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्छ ।

यस पटकको सूर्यग्रहणमा चन्द्रमा पृथ्वीबाट सबभन्दा टाढा पुगेको केही दिनपछि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुँदा पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएको प्रकाशलाई पूर्ण रूपमा नछेक्ने हुँदा सूर्य केवल रिङ आकारको गोलाकार रूपमा अवलोकन हुनेछ । काठमाडौँबाट भने यसलाई केवल खण्डग्रासका रूपमा अवलोकन गर्न सकिने जानकारी डा. शर्माले दिए ।

ज्योतिषी दीपक सुवेदीका अनुसार सूर्यग्रहणको ३ दिन अघिदेखि तीन दिन पछिसम्म सुतक लाग्छ । कुनै राशिले पनि सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने र मेष, वृष तथा मिथुन राशिलाई हानिकारक छ । त्यसपछि सिंह, कन्या, वृश्चिक, धनु, मकरलाई पनि नराम्रो छ । नक्षत्रका आधारमा कर्कट, तुला र मीन राशिलाई भने हानिकारक छैन ।

प्रकाशित मिति : December 25, 2019 at 7:43 am