२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मेरी क्रिसमस !, राष्ट्रपतिको सन्देश, ‘चाडपर्व र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व’

९ पुस, काठमाडौं आज डिसेम्बर २५ अर्थात् येशुको जन्मोत्सव । क्रिस्चियन धर्मावलम्बीहरुले आजको दिनलाई क्रिसमसका रुपमा मनाउने गर्छन् । येशु क्रिस्चियन धर्मका प्रवर्तक भएकाले पनि यसदिनलाई यो समुदायका मानिसहरुले हर्सोल्लासका मनाउने गर्छन् ।

नेपालमा पनि इसाई धर्मावलम्बीहरुले आज क्रिसमस धुमधामसाथ मनाइँदै छ । यद्यपि अहिले क्रिसमस इसाईसँगै अन्य धर्ममा आस्था राख्नेहरुले पनि उस्तै उमंगका साथ मनाउने गरेको पाइन्छ ।

विशेषगरी पश्चिमा संस्कृति मानिने यो पर्व पूर्वीयामा पनि पछिल्लो समय लोकप्रिय बन्दै गएको अवस्था छ । क्रिसमस ग्रेगोरियन पात्रो अनुसार हरेक डिसेम्बर २५ का दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने चलन छ ।

नेपालमा पनि यसकै अवसरमा विभिन्न ठाउँमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । व्यवसायीहरुले आजको दिनलाई लक्षित गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको अवस्था पनि छ । आज रमाइलो दिनका रुपमा लिने गरिन्छ । उसो त आजको दिनमा सम्पूर्ण मानवजगतको कल्याणको कामना गर्दै प्रार्थना गर्ने चलन पनि छ ।

पछिल्लो समय नेपालमा इसाई धर्मप्रति आस्था राख्नेको संख्या पनि बढ्दै गएको छ । एक तथ्यांकअनुसार नेपालमा अहिले झन्डै साढे १२ हजार चर्च तथा ३० लाखभन्दा बढी जनसंख्या छ । क्रिसमस झन्डै साताव्यापी रूपमा विश्वभर मनाइने गरिन्छ ।

चाडपर्व र संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्नु हामी सबैको साझा दायित्व

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीको महानपर्व ‘क्रिसमस डे’का अवसरमा आज एक शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी सबै नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ । ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने पनि उनले कामना गरेकी छन् ।

प्रकाशित मिति : December 25, 2019 at 7:06 am