२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कुलमान घिसिङ र डा रुइतलाई सम्मान गरिने

८ पुस, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा चिकित्सक डा सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ । नेपाल जन–प्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही रु दुई लाख रहेको छ । यसपटक दुई वर्षको सम्मान एकैपटक प्रदान गर्न लागिएको हो ।

ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पुर्याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । डा रुइत मेगासेसे पुरस्कारबाट समेत सम्मानित हुनुहुन्छ । उक्त सम्मान छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले यही पुस ११ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट उहाँहरुलाई सम्मान प्रदान गरिने जानकारी दिनुभयो ।

विगत २५ वर्ष साल्टट्रेडिङमा महाप्रबन्धक भएर काम गर्नुभएका हेमबहादुर मल्लले संस्थालाई पहिचानयोग्य बनाउनुभएको थियो । उहाँको योगदानको कदरस्वरुप विसं २०५९ देखि उक्त सम्मान कार्यक्रम थालिएको थियो । मल्लको २०५७ कात्तिक १२ गते निधन भएको थियो । उहाँलाई प्रशासक/व्यवस्थापकको ‘रोलमोडल’ का रूपमा लिने गरिन्छ । बागलुङमा जन्मिनुभएका मल्ल विसं २०२० मा साल्ट ट्रेडिङमा व्यवस्थापकका रूपमा प्रवेश गर्नुभएको थियो ।

यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान कोइरालालगायतलाई प्रदान गरिसकिएको छ ।

छनोट समितिका संयोजक बाँस्कोटाले २०७५ सालको सम्मान आगामी तीन महिनाभित्रमा वितरण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 24, 2019 at 7:08 pm