प्रस्तावित न्याय परिषद् सदस्यविरुद्ध सिकायत गर्न १० दिने सार्वजनिक सूचना
८ पुस, काठमाडाैँ । संघीय संंसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सुुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले सदस्य पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका हुन् । निराला मुलुकका पुराना र वरिष्ठ वकिल हुन् ।
यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । समितिले उजुरी प्राप्त भएपछि उजुरीकर्तासँग छलफल सकेपछि निरालासँग सुनुवाइ गर्नेछ । यी सबै प्रक्रिया करीब १५ दिनमा पूरा हुनेछ ।
प्रकाशित मिति : December 24, 2019 at 3:29 pm









