काठमाडौँबाट विप्लव समूहका ५ नेता पक्राउ
६ पुस, काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका पाँचजना नेतालाई काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँको मूलपानी र बूढानीलकण्ठ क्षेत्रबाट प्रहरी प्रधान कार्यालय अन्तर्गतको विशेष व्यूरोले जिल्ला इन्चार्जसहित पाँचजना नेतालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विप्लको सोलुखुम्बु-ओखलढुंगा इन्चार्ज त्रिलोचन विक, ओखलढुगा सेकरेटरी दुर्गाबहादुर तामाङ, युवा संगठनका केन्द्रीय सचिव शिशिर उपनामका सञ्जीव लामा, युवा संगठनकै केन्द्रीय कोषााध्यक्ष तिलक गुरुङ रहेका छन्।

त्यसैगरि अर्का केन्द्रीय सदस्य वकिल घर्ती मगर पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरुको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, कुकर बम, बम बनाउने सामाग्री र विप्लव नेकपाका दस्तावेज पनि बरामद भएका छन्। प्रहरीले उनीहरुमाथि वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा शक्तिशाली सिलिन्डर बम विस्फोट गराएको अभियोगमा मुद्दा चलाउने भएको छ। पक्राउमध्ये सञ्जीवलाई गुरुङको घरमा बम पड्काउनेमध्ये एक योजनाकार भनेको छ।
२०७५ फागुन २४ गते गुरुङको घरमा शक्तिशाली बम विस्फोट भएको थियो। त्यसपछि वैदेशिक रोजगार व्यवसायीहरु सुरक्षा खोज्दै प्रधानमन्त्रीको कार्यालयसम्म पुगेका थिए।
प्रकाशित मिति : December 22, 2019 at 5:28 pm









