६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

६ पुस, काठमाडौं ‘टुङ टुङ… पाखुम… पाखुम, टुङ टुङ … झ्याइँ..झ्याइँ’को तालमा ताल दिँदै सहनाइको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्को, दमाहा, नरसिङ्गालगायत बाजा बजाउँदै गरेका महिलाको समूह देख्दा माहोलै रमणीय हुन्छ । आकाशतिर फर्काएर अर्नाका सिंह आकारका नरसिङ्गा तुतु… धुतु… धुई…इ गर्ने महिला देखेर सबै छक्क नै पर्ने गर्छन् ।

नेपाली समाजमा प्रायः बाजा बजाउने पेसामा पुरुष अगाडि देखिन्छन् । त्यसमाथि पनि प्रायः दलित समुदाय र त्यसमा पनि दमाई जातिको वर्चस्व रहेको गोरखापत्र दैनिकमा खबर छ । महिलाले बाजा छुन पनि हुन्न भन्नेहरूका लागि उदाहरण बन्न सफल भएको छ– महिला नौमती बाजा समूह । बिहेको लगनको महिना महिला समूहलाई बाजा बजाउने काममा भ्याइ नभ्याइ हुन्छ ।

समूहका अध्यक्ष जानुका पौडेलले भनिन्, ‘‘केही आर्थिक उपार्जन गरी आत्मनिर्भर हुने विकल्पको खोजीमा बाजा बजाउन सुरु गरेका हौं, अहिले यही कामको चापले भ्याइ नभ्याइ छ, ३५ देखि ४८ वर्षसम्मका महिलाको बाजा बजाउने यो समूहमा ब्राह्मण, क्षेत्री, नेवार, तामाङ जातिमा महिला सम्मिलित छन् ।’’

पौडेलका अनुसार, ११-११ जनाको दुई समूह छौँ, यसले नभ्याएर अब देशैभर शाखा खोल्नुपर्ने अवस्था आएको छ । विवाहमा बाजा बजाउन नयाँ नयाँ घरमा जाँदा महिलाले बाजा बजाएको देखेर अधिकांश मानिसले अनौठो मान्ने र खुसी हुने गरेको उनले बताइन् । ‘‘बाजा बजाउने निम्ता आउँदा हामीलाई पनि आफ्नो तयारी गर्न खुब रमाइलो लाग्छ”, सहनाई बोकेर बसेकी इन्दिरा श्रेष्ठले भनिन्, ‘‘घर परिवारबाट राम्रो सहयोग पाएकाले बाजा बजाउन सक्ने भएका छौँ ।”

दलित समुदायलाई संस्कारका हिसाबले बाजा बजाउन त्यति समस्या नभए पनि कतिपय ब्राह्मण, क्षेत्रीका परिवारबाट आएका दिदी बहिनीले भने घरमा ठूलै सङ्घर्ष गर्नुपरेको उनीहरूको अनुभव छ । बाजा बजाउन धेरै ठाउँ पुग्नुपर्ने र ठाउँ पिच्छे फरक–फरक अनुभव सङ्गालेको छ महिला नौमती बाजा समूहले ।

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०६:२३