२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कसले गर्याे प्रधानमन्त्रीको ट्वीटर ह्याक ? किन गरियाे सोनिया गान्धीको ट्वीट रिट्वीट

५ पुस, काठमाडौँ । विवादास्पद नागरिकता विधेयकका कारण भारत अहिले अशान्त छ । भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारतभर भइरहेको विरोध प्रदर्शनका कारण हालसम्म ९ जनाको ज्यान गइसकेको छ । भारतका सत्तापक्षका सांसदहरुले विधेयकको बचाउ गरेका छन् भने विपक्षी कांग्रेस, कम्युनिष्ट लगायतका सांसदहरुले विरोध गर्दै आएका छन् । नेपालले भने आधिकारिकरुपमा भारतको नागरिकता विधेयक र त्यसबाट सिर्जित समस्याबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

 

यसैक्रममा भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रिट्वीट भएपछि सामाजिक संजालमा तरंग फैलिएका थियो। सोनिया गान्धीले अंग्रेजीमा दिएको भिडियो सन्देशमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने उल्लेख छ । आफ्नो अधिकारका लागि गरेको संघर्षमा उत्रिएका जनतालाई कांग्रेस पार्टीको साथ रहेको पनि उनले भिडियोमा बताएकी छन् ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेतृत्वको यो भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रिट्वीट भएपछि कस्ले गर्याे भन्ने कुराको छानविन भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ । प्रेस सल्लाहकार थापाले कुनै प्रकारको भ्रममा नपर्न अनुरोध गर्दै प्रधानमन्त्रीको ह्याण्डलबाट भएको रिट्वीट केही घण्टापछि हटाइएको छ ।

थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल को पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको बताउनुभएको छ । उता भारतीय सञ्चारकर्मीहरुले भने सोही रि–ट्वीटका आधारमा समाचार बनाइरहेका छन् । सामाजिक सन्जालमा पनि यो चर्चाको विषय बनेको छ । द टेलिग्राफको अनलाइन संस्करणमा कोलकाता डेटलाइनबाट प्रधानमन्त्री ओलीको रि–ट्वीटबाट समाचार बनाइएको छ ।

 

प्रकाशित मिति : December 21, 2019 at 11:27 am