इमान्दारीको नमूनाः नगदसहित भेट्टाइएको झोला फिर्ता
४ पुस, बेनी । म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ ।अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएका झोला फेला पार्नुभएका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्मा सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गर्नुभएको हो । बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको सो झोलामा रहेको रु ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको थियो ।

जीप चढेर बैसरीमा पुग्नुभएकी थापा आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सूचना पाएसँगै सामान बुझ्नका लागि आँखाबाट आँशु खसाल्दै गलेश्वर फर्कनुभएको थियो । आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा उहाँले शर्मालाई धन्यवाद ज्ञापन गर्नुभयो । हराएको सामग्री फेला पारेर आफैँले सम्बन्धित मान्छे खोजी गरी सामान फिर्ता गरेर शर्माले इमान्दारिताको नमूना कार्य गरेको भन्दै बनेपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रकाशित मिति : December 20, 2019 at 10:46 am









