करेन्ट लागेर घाइते भएका तनहुँका शिवलाई प्रवासी नेपालीद्वारा ५ लाखभन्दा बढी सहयोग
४ पुस, दमौली । करेन्ट लागेर घाइते हुनुभएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । कष्टकरपूर्ण जीवन बिताइरहनुभएका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३०० आर्थिक सहयोग गरेको हो । युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उहाँका श्रीमती सङ्गीता थापालाई हस्तान्तरण गर्नुभएको छ ।
विसं २०७० मा घर नजिकै बाँसपानीमा बिजुलीको लाइन मर्मतको क्रममा करेन्ट लागेर थापा घाइते हुनुभएको थियो । घाइते थापाको कष्टकरपूर्ण जीवनको बारेमा जानकारी पाएपछि युकेमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको समाजका उपाध्यक्ष रानाले जानकारी दिनुभयो । “कामको सिलसिलामा परदेशमा रहे पनि गाउँघरमा अप्ठ्यारो परेकालाई समाजले सहयोग गर्दै आइरहेको छ”, रानाले भन्नुभयो । भिमाद नगरपालिकाका उपप्रमुख खनालले थापाको लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । “स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, आपत्विपत्मा परेकालाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

रु पन्ध्र लाखको अक्षयकोष स्थापना
तनहुँ स्थायी घर भई रोजगारको सिलसिलामा हङकङमा बस्दै आएका नेपालीहरुले स्थापना गरेको तनहुँ समाज हङकङले रु १५ लाखको अक्षयकोष स्थापना गरेको छ । जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले समाजले उक्त अक्षयकोष स्थापना गरेको हो ।हङकङमा बस्ने तनहुँवासीले विसं २०५६ मा स्थापना गरेको समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो ।
हङकङमा प्रत्येक दुई वर्षमा आयोजना हुने तनहुँ बाराही साँझ साङ्गीतिक कार्यक्रममार्फत बचेको रकमले अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषमा यस वर्ष रु पाँच लाख थप गरी अक्षयकोषको रकमलाई रु १५ लाख पुर्याइएको समाजका पूर्वअध्यक्ष भीम गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार हङकङमा हालै सम्पन्न पाँचाैँ बाराही साँझबाट सङ्कलित रु पाँच लाख अक्षयकोषमा वृद्धि गरिएको हो । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।
समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भिमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा ४०० तनहुँवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।
प्रकाशित मिति : December 20, 2019 at 10:33 am









