यौन दुर्व्यवहार र बलात्कृतले किन बयान फेर्छन् ?
३ पुस, दाङ । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका १ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए ।
घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले ०७६ असार ९ गते आठ वर्ष कैद गर्ने फैसला गर्यो ।
पाँच वर्षीयालाई ०७५ माघ १६ गते घोराही उपमनपा २ का १८ वर्षीय मुकेश विकले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते नै प्रहरीमा उजुरी दिए । फकाएर खोलामा लगेर बलात्कार गरेको खुल्न आयो । रक्तश्राव भएपछि पीडित बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण भयो ।
प्रहरीले आरोपितलाई माघ १६ गते नै गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले ०७६ वैशाख २७ गते दोषी ठहर गर्दै १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट रु ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्यो ।
यसैगरी एघार वर्षीया बालिकालाई ०७५ फागुन १३ गते घोराही उपमनपा–८ का ३१ वर्षीय सुनिल थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

१६ वर्षीया बालिकालाई ०७५ फागुन ७ गते घोराही उपमनपा–१८ का ३५ वर्षीय मदन विकले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । पाहुना बस्न गएका विकले रातको समयमा बालिकालाई बलात्कारको प्रयास गरेको पीडितले बताइन् ।
पच्चीस वर्षीया महिलालाई ०७६ असार १ गते तुलसीपुर उपमनपा ६ का ३५ वर्षीय नवीन शर्माले बलात्कार गरेको भन्दै पीडित पक्षले असार २ गते इप्रका तुलसीपुरमा उजुरी दिए ।
रातको समयमा महिलाकै कोठामा पुगेर बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको थियो । १५ वर्षीया सुस्तःमनस्थितिकी बालिकालाई १० महिनादेखि लगातार राजपुर गाउँपालिका ३ का ६५ वर्षीय मानबहादुर चौधरीले बलात्कार गरी ०७६ असार ३१ गते बच्चा जन्मिएको भन्दै पीडित पक्षले इप्रका गढवामा साउन ८ गते उजुरी दिए ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० मा विगत एक वर्षमा दाङमा महिलामाथि बलात्कार, बलात्कारको प्रयास र यौन दुर्व्यवहारका ६९ घटना भएको उल्लेख छ ।
इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार प्रहरी, प्रशासन, अदालत, सरकारी वकिल कार्यालय, न्यायिक समिति, ओसिएमसी, ओरेक, जिल्लास्तरीय सेवा केन्द्र, पत्रकार तथा स्वयं पीडितकै माध्यमबाट भएका घटनाको सत्यतथ्य विवरण सङ्कलन र अभिलेखीकरण गरिएका घटना हुन् ।
इन्सेककका अनुसार बलात्कारजस्ता घटनामा मिलापत्र भएको छ भने केहीले निवेदनसमेत दिएनन् । दिएकाले बयान फेर्ने क्रम बढ्दो छ । यौन हिंसा र बेचबिखनमा परेका झन्डै ५० प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्दा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेका छन् ।
पीडक शक्तिशाली भएको अवस्थामा पीडितहरूले बयान फेर्ने गरेको पाइएको सो पुस्तकमा उल्लेख छ । संरक्षण अभावमा पनि पीडितले आफूले लगाएको आरोप र आरोपित व्यक्तिबारे बयान फर्ने गरेको भेटिएको छ ।
मानसिक रूपमा एकदम बलिया र न्याय पाउनैपर्छ भनेर अडान लिन सक्ने महिलाबाहेक अन्य धेरैले विभिन्न कारणले बयान फेर्ने गरेको पाइन्छ । “जसको सुरक्षा छैन, बस्ने ठाउँ छैन अनि शक्तिशाली व्यक्तिविरुद्ध उजुरी गरेका छन्, तिनको मुद्दामा यस्तो सम्भावना धेरै हुन्छ”, कानुन व्यवसायीहरुको दाबी छ ।
इन्सेकले अभिलेख गरेकामध्ये यो वर्ष १३ मुद्दाका आरोपितले सफाइ पाए तर पीडितले बयान फेरेकै कारण सफाइ पाउने धेरै छन् । ५ वर्षीया बालिकादेखि ४५ वर्षीया महिला पीडित भएको घटना उल्लेख गरिएको छ भने ५५ वर्षीय वृद्धसमेत बलात्कारमा सहभागी भएको घटना बाहिर आएको छ । ससुरा, भान्जा, शिक्षक, प्रहरी, दाजु, भाइ, छिमेकीबाटै बलात्कृत हुनेको सङ्ख्या धेरै छ ।
इन्सेकको प्रतिवेदनअनुसार यो वर्ष बलात्कारमा परेर एक बालिकाले बच्चा जन्माइन भने अर्की युवती सात महिनाको गर्भ सम्हालिरहेकी छन् । त्यस्तै यो वर्ष बलात्कार आरोप लाग्दा शिक्षकले आत्महत्या गरे ।
दाङ जिल्लामा एक वर्षमा कूल २२४ मानव अधिकारसँग सम्बन्धित घटना भए । जसमा बलात्कार र बलात्कार प्रयासका ६९ घटना छन् । जिल्लामा भ्रुण हत्याका तीन, मानव बेचबिखन तथा ओसारपसारका पाँच, आत्महत्या दुरुत्साहनका दुई, कथित बोक्सी आरोपमा तीन, उपचारमा लापरवाहीको चार, बन्द÷हडताल÷तालाबन्दीको १५, हत्या प्रयास एक, कुटपिटको ५३, बेवारिसे शवको चार, नागरिक बेपत्ताको एउटा घटना भयो ।
जातीय विभेद्को एक, बम विस्फोटको एक, आगजनीको तीन, बहुविवाहको एक, अपहेलनाको २२, दुव्र्यवहारको आठ, अपहरणको तीन, घर निकालाको एक, ज्याला ठगीको एक वटा घटना भएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकका अनुसार दाङ जिल्लामा जम्मा २२४ वटा घटनामा २४२ पीडित बने ।
प्रतिवेदनले १७९ घटना गैरराज्य, ३५ राज्य र १० घटना अज्ञात पक्षबाट भएको देखाएको छ । तीमध्ये १७२ महिलासहित २४२ जना पीडित भएका थिए भने ४२ बालिका बलात्कारमा परेका थिए । –रासस
प्रकाशित मिति : December 19, 2019 at 8:24 am







