२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

दिसाजन्य लेदोको व्यवस्थापन गर्न योजना बनाएर अघि बढ्नेछौं : मन्त्री मगर

२ पुस, काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले नयाँ प्रविधिको माध्यमबाट दिसाजन्य लेदो वस्तुको व्यवस्थापन गर्न योजना सहित मन्त्रालय अघि बढेको बताउनुभएको छ । नेपाल नगरपालिका संघले बुधबार राजधानीमा आयोजना गरेको दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठोस फोहोर मात्रै नभई दिसाजन्य लेदोको व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्न योजना बनाइएको बताउनुभएको हो ।

‘दिसाजन्य लेदो व्यवस्थापनको विषय अहिले ओझेलमा परेको छ । बढ्दो सहरीकरण र जनघनत्वका कारण यो समस्या बढ्दै छ ।’ उहाँले भन्नुभयो, ‘ नयाँ प्रविधिलाई आत्मसाथ गरेर अघि बढ्न सक्यौं भने यसको व्यवस्थापनमा आमूल परिवर्तन आउनेछ ।’‘बढ्दो सहरीकरण र दिसाजन्य लेदो व्यवस्थापनमा सचेतनाको कमीका कारण खोला एवं वातावरणमा दिसाजन्य लेदोको विसर्जन असुरक्षित तरिकाले भईरहेको छ ।’ उहाँले जोड दिंदै भन्नुभयो, ‘नेपालमा दिसाजन्य लेदोको उचित व्यवस्थापन गर्न चुनौति छ तरपनि मन्त्रालयले योजना बनाएर अघि बढिरहेको छ । ’

मन्त्री मगरले खानेपानी र सरसफाईको क्षेत्रमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पूर्ण सरसफाई कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकार नै अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेशनका उप निर्देशक डा. रोशनराज श्रेष्ठले सरकारले ढल र ठोस फोहोरको व्यवस्थापनमा लगानी गरेजस्तै दिसाजन्य लेदोको व्यवस्थापनमा पनि लगानी गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले आधुनिक प्रविधिको माध्यमबाट दिसाजन्य लेदोको व्यवस्थापन गर्न सकिने भएकाले यसले उर्जा उत्पादनमा सघाउ पुग्ने बताउनुभयो ।

नेपालमा दिसाजन्य लेदो व्यवस्थापनको अवस्था

दिसाजन्य लेदो व्यवस्थापन भन्नाले दिसा पिसाबको व्यवस्थित संकलन, भण्डारण, रित्याउने र ढुवानी, प्रशोधन र सुरक्षित विसर्जनसम्मको समग्र क्रियाकलापलाई बुझाउँदछ । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भईसकेपछिको यो पूर्ण सरसफाई अन्तर्गतको कार्यक्रम हो ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोग र पहलमा नेपालमा पहिलो पटक सन् १९९८ मा काठमाडौंको टेकुस्थित तत्कालीन काठमाडौं नगरपालिकाको फोहोर संकलन केन्द्रमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएको थियो । तर विविध कारणले उक्त प्रशोधन केन्द्र केही समय सञ्चालन भई बन्द भयो ।

सन् २००३ मा पोखरामा बनेको अर्को प्रशोधन केन्द्र पनि विविध कारणले सञ्चालनमा आउन सकेन । सन् २०१६ मा भने एन्फोको प्राविधिक सहयोगमा दुई वटा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु स्थापना भएका छन् । बर्दियाको गुलरिया नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु निर्माण भई सञ्चालन भईरहेका छन् । नेपालका पाँच वटा नगरपालिकाहरु लहान, धुलिखेल, वालिङ, लमही र कञ्चनपुरको भीमदत्त नगरपालिकामा पाइलट प्रोजेक्टको रुपमा दिसाजन्य लेदो व्यवस्थापनको काम अघि बढाउन लागिएको छ ।

प्रकाशित मिति : December 18, 2019 at 4:59 pm