२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

१ पुस, काठमाडौं भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार । सोमबार साढे १० बजे पुग्दा कार्यालयको ढोकाछेउ मानिसहरू झुम्म थिए । कोही मोबाइल खेलाइरहेका थिए त कोही गफ गरिरहेका । कार्यालयको मूलढोकाअगाडि उभिएका उनीहरू कर्मचारी होइन रहेछन्, जग्गाको काम लिएर आएका सर्वसाधारण पनि होइन रहेछन् । उनीहरू त लेखापढी व्यवसायी पो रहेछन् ।

मालपोत भवनमा लिफ्ट त छ, तर चल्दैन । भवन सात तलाको छ । भुइँतलादेखि छैटौं तलासम्म विभिन्न शाखा छन् । बिरामी, अशक्तलाई काम गर्न जान साह्रै अप्ठ्यारो छ । हिँडेरै तलमाथि गर्नुपर्छ । शारीरिक रुपमा फरक क्षमता भएका, अशक्त, वृद्धवृद्धालाई त त्यतिकै समस्या छ ।

सूचना अधिकारीसमेत रहेका मालपोत अधिकृत प्रभुनाथ राई भूकम्पपछि लिफ्ट नचलेको भन्ने आफूले सुनेको बताए । ‘भूकम्पपछि नचलेको भन्ने सुनेको हुँ,’ उनले भने, ‘मर्मत गर्नुपर्छ भन्ने महसुस भएको छ ।’ उनले लिफ्ट नहुँदा सेवाग्राहीले मात्र होइन आफूहरूले समेत दुःख पाइरहेको बताए ।

भवन बनाउने ठेकेदारलाई मर्मत गर्न लगाउने भनेर मर्मतसम्भारमा ढिलाइ भइरहेको खबर अन्नपूर्ण पोस्टमा छ । सूचना अधिकारी राईले पुरानो ठेकेदारलाई पर्खिएर नहुने नयाँ ल्याएर मर्मत गर्नुको विकल्प नभएको बताए । मालपोत कार्यालयमा आर्थिक चलखेल रोकिएको छैन । ‘पैसा नखुवाइ त यहाँ कामै हुँदैन,’ एक सेवाग्राहीले भने, ‘यहाँ काम गराउन साह्रै गाह्रो छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीलाई दर्जनौं पटक घुससहित पक्राउ गरेको छ । धेरैलाई भ्रष्टाचारको आरोपमा मुद्दा पनि दायर भएको छ । तर मालपोतका कर्मचारीले घूस खान, भ्रष्टाचार गर्न नछाडेको सेवाग्राही दुखेसो पोख्छन् । जग्गा रजिस्ट्रेसन पास गर्न आएका एक सेवाग्राहीले भने, ‘के गर्नु हुन्छ, तपाईंहरू जतिपल्ट आउनुहोस्, अख्तियारले जतिसुकै समातोस्, यहाँ घुस खान छाड्दैनन् ।’ उनले आफूले पैसा खुवाएरै काम गराइरहेको बताए ।

पछिल्लो समय मालपोत, नापी कार्यालयमा भू-सेवा प्रणाली लागू गरिएको छ । भू-सेवा प्रणालीमा दर्ता भएका लेखापढी व्यवसायीलाई लाइसेन्स दिएरै बिचौलियाको काम गर्न अनुमति सरकारले दिएको छ । लाइसेन्स लिएका बिचौलिया अर्थात् बिचौलियाको सिन्डिकेटले पछिल्लो समय लेखापढीको काम गर्छन् । डिल्लीबजारमा करिब ३ सय लेखापढी व्यवसायी छन् । उनीहरूले सेवाग्राहीसँग पैसा लिएर काम गराउने गरेका छन् । वैधानिक रुपमा भू-सेवा प्रणालीमा दर्ता भएर उनीहरूले काम गरिरहेका छन् ।

सूचना अधिकारी राईले सेवाग्राही आफैं गर्न सक्ने काम पनि लेखापढी व्यवसायीमार्फत गराउने गरेको यथार्थ बताउँछन् । सर्वसाधारणले भर्न सक्ने सरलीकृत लिखत पछिल्लो समय बनाइएको जानकारी दिँदै उनले भने, ‘सेवाग्राही भर्दैनन्, लेखापढी व्यवसायीलाई भर्न लगाउँछन् ।’ उनले सरलीकृत लिखत, निवेदन लेख्न सेवाग्राही आफैंले सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : December 17, 2019 at 7:38 am