२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

प्रतिभावान् दुई कलाकार गुमाउनु परेकामा प्रधानमन्त्री ओलीद्धारा समवेदना व्यक्त

३० मंसिर, काठमाडाैँ । देशले बितेको दुई दिनमा प्रतिभावान् दुई जना कलाकार गुमाएको छ । कलाकार दीपक क्षत्रीको निधन भएको भोलिपल्ट अर्का कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको पनि निधन भएको छ । शनिबार कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए भने आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हाे ।

फाइल फाेटाे

लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्। यस्तै ५४ वर्षिय भट्टराई करिब ३ दशकदेखि अभिनय र चलचित्र निर्माणमा सक्रिय छन् । भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।

यसरी दुई दिनकाे बीचमा  दुई जना प्रतिभावान कलाकार गुमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएकाे छ । उहाँले ट्वीटरमार्फत दुबै कलाकारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुभएकाे छ, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रकाशित मिति : December 16, 2019 at 11:46 am