धनुषा विस्फोट अपडेट : मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टरको उपचारकै क्रममा ज्यान गयो
२८ मंसिर, जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगर बजारमा शुक्रबार मध्यरातमा भएको बम विस्फोटमा परि ३ जनाको मृत्यु भएको छ । विस्फोटमा परि स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै विस्फोटमा सख्त घाइते प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालको पनि उपचारका क्रममा शनिबार बिहान करिब ७ बजेतिर मृत्यु भएको छ । सख्त घाइते प्रहरी जवान रिजन महतो, मृतक राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जलीको भने उपचार भइरहेको छ ।
मृतक राजेश्वर औषधि व्यवसायी हुन् । बम विस्फोट पनि उनकै घरमा भएको हो । व्यवसायी राजेश्वरले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । पछि प्रहरी त्यहाँ पुग्दा बम विस्फोट भएको थियो ।
बम कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोट गराउनेको खोजी भइरहेको छ ।
प्रकाशित मिति : December 14, 2019 at 8:53 am










