जनतासँग महिला प्रमुख जिल्ला अधिकारी !
२८ मंसिर, काठमाडौं । देशकै विकट एवं दुर्गम हिमाली जिल्ला हुम्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नियुक्त हुँदा उपसचिव विनीता भट्टराईलाई खुसीभन्दा बढी तनावले सतायो । करिब ६ महिनासम्म हिउँ पर्नुका साथै खाद्यान्न अभाव र यातायातको एउटै विकल्प हवाई जहाज मात्र भएपछि उनका लागि प्रजिअ नियुक्ति निल्नु न ओकेल्नुजस्तै बन्यो ।

तराईमा पर्ने सर्लाहीको गर्मी ठाउँमा जन्मे-हुर्केकी महिला बाक्लो हिउँ पर्ने चिसो ठाउँमा बस्नु आफैँमा चुनौतीपूर्ण हो । अन्ततः उहाँ गत साउनमा प्रमुख जिल्ला अधिकारीका रूपमा हुम्ला हाजिर भइन् । पहिलोपटक महिला प्रजिअ आएको देख्दा कर्मचारीहरू मात्र होइन, हुम्लावासीसमेत खुसी भए ।
त्यस्तै, जुम्ला जिल्लाको प्रजिअ दुर्गा बन्जाडेको अनुभव पनि भट्टराईकै जस्तै छ । गत वर्ष फागुनमा जुम्लाको प्रजिअमा नियुक्त भएकी बन्जाडेलाई हेर्न कर्मचारी तथा सर्वसाधारणको जुम्ला विमानस्थलमा भीड लागेको खबर गोरखापत्र दैनिकमा छ । ‘प्राकृतिक रूपमा सुन्दर जुम्लाको प्रजिअ हुन पाउँदा गर्व लागेको छ,’ उनले भनिन् ।
त्यस्तै पूर्वी नेपालको पहाडी जिल्ला तेह्रथुमकी प्रजिअ चन्द्रकला ओली जिल्लावासीको सेवा गर्न पाउँदा खुसी लागेको बताउँछिन् । गत भदौबाट प्रजिअको नेतृत्व सम्हालेकी ओलीका लागि पहाडी क्षेत्रमा सेवा गर्नु नयाँ अनुभव पनि हो ।
महिला प्रजिअ भएका कारण महिलाका गुनासो बढी आउनु स्वाभाविक हो तर प्रजिअलाई विशेष किसिमको जिम्मेवारी र दायित्व हुने भएकाले शान्ति सुरक्षा, अमनचयन कायम गर्न होस् या सेवाग्राहीलाई चुस्त सेवा प्रदान गर्ने सवालमा विभेद नहुने उनी बताउँछिन् ।
भक्तपुरकी नवनियुक्त प्रजिअ एवं सहसचिव हुमकला पाण्डे भने यही साता कार्यालयमा हाजिर भएकी छन् । उनका अनुसार ७ जिल्लामा प्रजिअको जिम्मेवारी महिलालाई सुम्पिनु क्षमता र पेसागत इमानदारीमाथिको विश्वास हो ।
गृह मन्त्रालयका अनुसार ७७ जिल्लामध्ये भक्तपुरमा पाण्डे, हुम्लामा भट्टराई, जुम्लामा बन्जाडे, पर्वतमा कल्पना घिमिरे नेपाल, रामेछापमा लीलाकुमारी केसी पाण्डे, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ र तेह्रथुममा ओली छन् । त्यस्तै काभ्रेमा लक्ष्मीदेवी हुमागाईं खतिवडा, सिन्धुलीमा विजयाकुमारी प्रसाई, रसुवामा सपनाकुमारी भट्टराई, डोल्पामा लक्ष्मीदेवी शर्मा र सोलुखुम्बुमा लक्ष्मीकुमारी शाही सहायक प्रजिअको जिम्मेवारीमा छन् ।
उषा नेपालबाट आरम्भ
उषा नेपाल नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । २०४६ को परिवर्तनपछि उनी भक्तपुरको प्रजिअ बनेकी थिइन् । अहिले अवकाश प्राप्त उनले ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङको समेत प्रजिअको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।
त्यसैगरी २०४९ पुसमा अम्बिका केसी दोस्रो महिला प्रजिअका रूपमा भक्तपुरमै नियुक्त भएकी थिइन् । उनी पनि अहिले सेवा निवृत्त भइसकेकी छन् । त्यस्तै हीरादेवी पौडेल, मुनाका न्यौपाने र गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरे पनि प्रजिअ भइसकेका छन् । सहसचिव र उपसचिव गरी हाल प्रजिअ बन्ने महिलाको संख्या ११ रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : December 14, 2019 at 7:30 am








