२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मुस्ताङकाे तापक्रम माइनस १५ डिग्री, ताल तथा खोलाको पानी जम्यो

२७ मंसिर, ठिनी । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

चिसोले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १, चराङका खोला र धारामा पानी जमेको स्थानीय तिलक विकले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ ।

खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ । यसैगरी सदरमुकाम जोमसोमनजिकै घरपझोङ गाउँपालिका ५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ ।

तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए । बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीय चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुक्खा घाँस खुवाइएको छ । जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् । उपकरण र मजदुरले काम गर्न सकेका छैनन् ।

जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् ।

गाउँमा घर कुरुवा राखेर स्थानीय बासिन्दा न्यानो ठाउँमा सरेका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ । स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ । –रासस

अपडेट : उपत्यका र पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च हिमालमा हिमपात जारी

प्रकाशित मिति : December 13, 2019 at 10:24 am