नारायणगढ-मुग्लिन सडक मर्मत : बिहान ११ देखि अपराह्न ३ बजेसम्म आवागमन ठप्प
– एम्बुलेन्स, प्रेसजस्ता अत्यावश्यक सवारीसाधनलाई निर्वाध चल्न दिइने

२७ मंसिर, चितवन । नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । पहिरो रोकथाम र मर्मतका लागि बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आजदेखि पुस १० गतेसम्म दैनिक ४ घण्टा यो सडक खण्ड बन्द गर्न लागेको जनाएको छ । हिउँदमा पनि सुक्खा पहिरो खस्ने जोखिम देखिएकाले दैनिक ४ घण्टा बन्द गरी काम गर्न लागिएको प्रजिअ नारायणप्रसाद भट्टराईको भनाइ छ ।
उनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधनलाई पन्ध्रकिलोमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ । यसैगरी काठमाडौंबाट मुग्लिनतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजार र पोखराबाट आउने सवारीसाधनलाई बेनिटारमा रोकिनेछ ।
काठमाडौंबाट मुग्लिनतर्फ आउने मालवाहक सवारी साधनलाई लेवाटारमा र पोखराबाट आउने मालवाहक सवारीलाई आँबुखैरेनीमा रोकिने गरी व्यवस्था मिलाइएको छ ।
दैनिक झन्डै १० हजार सवारीसाधान ओहोरदोहोर गर्ने यो सडकमा एम्बुलेन्स, प्रेस तथा अत्यावश्यक सवारीसाधनलाई भने आवागमनमा रोक लगाइने छैन ।

प्रकाशित मिति : December 13, 2019 at 8:33 am








