कञ्चनपुरमा हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते
२६ मंसिर, भीमदत्तनगर । कञ्चनपुरमा केही दिनयता जङ्गली हात्तीको समूहले आतङ्क मच्चाउँदै आएका छन् । बुधबार बिहान यहाँको महाकाली नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा दुई महिलाको ज्यान लिएको एक दिन नबित्दै फेरी बेदकोट नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट मुक्तकमैया बस्तीका एक वृद्ध गम्भीर घाइते भएका छन् । बेदकोट–२ का वडाध्यक्ष नरेश सिंहले जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय सिताराम डगाैरा गम्भीर घाइते भएको जानकारी दिनुभयो । “बुधबार मध्यराति जङ्गली हात्तीको बधान मुक्तकमैया बस्तीमै पसेर आतङ्क नै मच्चाए”, उहाँले भन्नुभयाे, “गाउँलेले हो–हल्ला गरेपछि मात्रै हात्ती वनतिर लागे ।

” बुधबार बिहान जङ्गलमा घाँस दाउरा सङ्कलन गर्न गएका महाकाली नगरपालिका–२ का ३८ वर्षीया बसन्ती भट्ट र ५० बर्षीया भुरी बोहराको भारतीय जंगलबाट आएका हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उक्त घटनामा परेर स्थानीय चार महिला गम्भीर घाइते भएका छन । घाइतेमध्ये दुईको भारतको खटिमास्थित तपन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी गत असोज २९ गते शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उक्त पीडित परिवारलाई सरकारले रु १० लाख राहत रकम उपलब्ध गराएको थियो ।
प्रकाशित मिति : December 12, 2019 at 1:48 pm










