लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानकै क्रममा ५८ घटना
२६ मंसिर, काठमाडौं । लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा मुलुकभरि महिला तथा बालबालिका हिंसाका ५८ घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले हिजो (बुधबार) सार्वजनिक गरेको प्रतिवेदनमा मंसिर ९ देखि २४ गतेसम्मको लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानमा २५ महिला र ३३ बालबालिका पीडित भएको उल्लेख छ ।
प्रतिवेदनमा ९ महिलासहित २७ जना बलात्कृत भए । सो अवधिमा दैनिक २ जनाभन्दा बढी महिला तथा बालिका यौनजन्य हिंसाबाट पीडित भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार यौन दुर्व्यवहारका घटनामा ४ वर्षीया १० जना र बलात्कार प्रयासका घटनामा ६ महिला पीडित भए ।

यो अवधिमा बेचबिखन प्रयासमा २ महिलासहित ३ बालिका, बेचबिखन घटनामा ३ बालिका र बोक्सी आरोपमा २ महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । अभियानका क्रममा परिवारकै सदस्यबाट ३ महिला र एक बालिकाको हत्या हुनुका साथै अछाममा १ महिलाको छाउगोठमा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा ‘अन्तर पुस्ता समानता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान सञ्चालन भएको थियो । लिंगका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा वृद्धि हुँदै गएको पनि सो प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति : December 12, 2019 at 6:53 am








