गोकर्णेश्वरमा साहित्य महोत्सव आयोजना हुने
मंसिर, काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्ने भएको छ ।
नगर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । महोत्सवका बारे जानकारी दिन मङ्गलबार नगरकार्यपालिकाको कार्यालयमा आयोजित साहित्यकारको भेलामा नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रको प्रचार प्रसार गर्ने ध्येयले महोत्सव आयोजना हुन लागेको जानकारी दिनुभयो । यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ ।

“महोत्सवमा पर्यटकीयस्थल तारेभीर, शिवपुरी, वाग्द्वार, सुन्दरीजल, गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र, राष्ट्रिय शहीद स्मारक निर्माणस्थल क्षेत्रलगायत स्थानका बारेमा जानकारी दिई यहाँको प्राकृतिक एवं पुरातात्विक महत्व समेटेर साहित्य सिर्जना गर्न प्रेरित गरिनेछ”, उहाँले भन्नुभयो । महोत्सवबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको छ । महोत्सवमा प्रस्तुत गरी सर्वाेत्कृष्ट पहिलो कवितालाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । हास्य कवि भैरव अर्याल, आख्यानकार रमेश विकललगायत साहित्यकारको जन्म गोकर्णेश्वर क्षेत्रमै भएको थियो ।
हाल नगर क्षेत्रमा दुवै जना साहित्यकारको स्मृतिमा खुलेका साहित्यिक संस्था विभिन्न गतिविधिमा क्रियाशील छन् । यसैगरी अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठानलगायत साहित्यिक संस्थाले मासिकरुपमा नियमित साहित्यिक कार्यक्रम गरिरहेका छन् । आगामी पुस माघमै साहित्यिक महोत्सव गर्ने प्रस्ताव नगरपालिकाले राखेको साहित्यकार एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिनुभयो । भेलामा १५० भन्दा बढी साहित्यकार, लेखक एवं पत्रकारको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : December 11, 2019 at 1:29 pm










