१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब

फाइल तस्बिर ।

२२ मंसिर, काठमाडौं नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन् । जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा सख्त घाइते छन् । यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ । दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन । पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन ।

दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो । अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ । अध्ययन २०७२ सालमा भएको थियो । त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ ।

दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ । सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आकलन छ । गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको खबर अन्नपूर्ण पोस्टमा छ ।

ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता ४ महिना (आव ०७६/७७ साउन-कात्तिक) मा देशभर ५ हजार ९ सय ८१ सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ सय ८२ जना मारिएका छन् । १ हजार ६ सय ९२ जना सख्त घाइते छन् ।

निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन् । हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना सख्त घाइते हुने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दुर्घटनाको ठूलो आर्थिक सामाजिक मूल्य रहेको बताए । ‘परिवारले भोग्ने पीडा छँदै छ, आयआर्जन गर्ने उमेरका परिवारका सदस्यको अंगभंग या मृत्यु हुँदा यसले भयावह समस्या सिर्जना गर्छ,’ उनले भने, ‘अंगभंग भएकाको उपचारमा ठूलो खर्च गर्नुपर्ने हुन्छ भने आर्थिक रुपले सक्रिय हुन नसक्ने जनसंख्या बढ्नु देशका लागि पनि दीर्घकालीन भार सिर्जना हुनु हो ।’

प्रकाशित मिति : December 8, 2019 at 7:06 am