नगरकोटमा नमूना बस्तीको उद्घाटन
१८ मंसिर, भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा ५२ घर रहेको बस्तीलाई नमूनाबस्ती घोषणा गरिएको छ । नमूना बस्तीको आज नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभयो । नगरकोटका बस्तीलाई नमूनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्दै घोषणा गर्न थालेको हो । कार्यक्रममा नमूनाबस्ती अवलोकनका लागि अष्ट्रेलियाको वास फर ओमेन अर्गनाइजेसनबाट सार्क राष्ट्रलगायत विभिन्न देशको प्रतिनिधित्व गर्दै आएका २५ सदस्यीय टोलीलाई नगर प्रमुख मिश्रले चाँगुनारायण विकासका लागि गर्न सकिने सम्भाव्यताका विषयमा जानकारी दिनुभएको थियो ।

नमूनाबस्तीमा पनि दुई घरमा घरवास सञ्चालन शुरु गरिएको छ । यसलाई विस्तार गर्ने योजना रहेको छ । नगरकोटको बाँस्तोला गाउँमा सञ्चालनमा रहेका १७ घरमा घरवासमध्ये २०७२ सालको भूकम्पले क्षति पुर्यारएपछि अहिले आठ घरवास सञ्चालन भइरहेका नगरकोट सामुदायिक होम स्टेका उपाध्यक्ष तथा होमस्टे एशोसिएशन नेपालका केन्द्रीय सदस्य राजकुमार लामिछानेले जानकारी दिनुभयो । आगामी दिनमा १७ घरमा घरवास सञ्चालनका लागि तयारी भइरहेको लामिछानेले जानकारी दिनुभयो । अष्ट्रेलियाको वास फर युमेन अर्गनाइजेसनबाट टोलीले नमूना बस्तीको अवलोकन गरेको छ ।
एलियासको नेतृत्वमा आएको टोलीले हाल सर्लाही र उदयपुरका नमूनाबस्तीमा काम गरिरहेको छ, भने काठमाडौँका ग्रामीण बस्तीमा नमूनाबस्तीको स्थिति जान्नका लागि नगरकोट फेदीमा पनि अवलोकन गरेका छन् । टोलीले बस्तीको अवस्था, सरसफाइ, शौचालयको सफाइ, साबुनको प्रयोग, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, घरबाट निस्कने फोहरको व्यवस्थापन, अर्गानिक साग सब्जी तरकारीको प्रयोग र नमूना समुदायभित्र घरवास सञ्चालन भएको लगायतको अवलोकन गरेका थिए । नमूना बस्तीका टोल संयोजक रुपा गजुरेलले अबका दिनमा नमूनाबस्तीले बनाएको आचारसंहिता अनुसार सरसफाइलाई ध्यान दिई जैविक खानेकुरामा प्राथमिकता दिने र यो ठाउँलाई भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउने बताउनुभयो ।
प्रकाशित मिति : December 4, 2019 at 4:41 pm









