अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै ठगी गर्ने २ जना भक्तपुरबाट पक्राउ
१७ मंसिर, काठमाडौँ । सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार लगायतका सामान सस्तोमा पठाइदिने भन्दै भारतीय मोबाइलबाट विज्ञापन गरी ठगी गरिरहेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा, साँगाचोकगढी घर भइ हाल भक्तपुरको कौशलटार बस्दै आएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलविनायकका २४ वर्षीय अमन अवाल छन् ।

उनीहरुले एक महिनाको अवधिमा ८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । प्रहरीले यस्ता विज्ञापनका आधारमा सामान मगाएर अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी कोही ठगीएको भए महानगरीय अपराध महाशाखा, टेकुमा जानकारी दिन पनि आह्वान गरेको छ । यस्ता घटना दोहोरिन सक्ने भन्दै प्रहरीले समयमै सचेत र सजग हुन सबैलाई आग्रहसमेत गरेको छ ।
प्रकाशित मिति : December 3, 2019 at 12:14 pm









