१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

बाग्मती सफाइमा तारजाली उपयुक्त !

१७ मंसिर, काठमाडौं । धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउन केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदेखि भइरहेको छ ।

त्यसैगरी तीनवटै सुरक्षा निकाय, विद्यार्थी, आमनागरिक सम्मिलित बाग्मती सफाइ महाअभियानको २९९औँ साता पूरा भइसकेको छ । तर यी प्रयासबाट आशातीत सफलता हासिल हुन सकेको छैन । विगत ५ वर्षदेखि हरेक शनिबार बाग्मती सफाइ अभियानले बाग्मतीको भौतिक अवस्थामा उल्लेखनीय सुधार देखिएको छैन । २०७० जेठ ५ गतेदेखि नियमित रूपमा बाग्मती सफाइ महाअभियान नियमित सञ्चालन हुँदै आएको खबर गोरखापत्र दैनिकमा छ ।

सफाइ गरी पहिलेकै मौलिक अवस्थामा फर्काउन विभिन्न उपायमध्ये बाग्मतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा संकलन गर्ने विधि एक हुन सक्ने बाग्मती सफाइ अभियानसँग जोडिएका संस्था र व्यक्तिहरूको धारणा छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उप-आयोजना प्रमुख योगेन्द्र चित्रकारले बाग्मती नदीसहित यसका सहायक खोलामा फलामको जाली जडान गरी पहिलेभन्दा सहज रूपमा बाग्मती सफाइ गर्न सक्ने बताए । एक ठाउँबाट अर्को ठाउँमा बगेर जाने ठोस फोहोरलाई जालीमार्फत रोकी सहज रूपमा ती फोहोरको संकलन तथा व्यवस्थापन गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : December 3, 2019 at 7:08 am