२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

उपयुक्त औद्योगिक सम्बन्ध स्थापित होसः राष्ट्रपति

१८ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ ।

उहाँले आज शुभकामना सन्देशमार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले यस दिवसले आफ्नो अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गरी विश्वभरीका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मजदूर दिवसका अवसरमा आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति र सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै नेपाली श्रमिक तथा मजदूरले आफ्नो अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०५:५५