प्रधानमन्त्री ओली खतरामुक्त
१३ मंसिर, काठमाडौँ । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले स्वास्थ्य अवस्था खतरामुक्त भएपनि प्रधानमन्त्री पूर्ण रूपमा स्वस्थ्य भने नभएको बताइन् ।

शाहले भनिन्, ‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’, ’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यसकारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’ प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताइन् । मिर्गौलाको उपचारमा रहेका प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण एपेन्डिसाइटिसका कारण केही पर धकेलिन सक्ने डाक्तर शाहले बताइन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् । यसबीचमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।
प्रकाशित मिति : November 29, 2019 at 11:24 am









