१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

केरुङ-काठमाडौं रेलमार्ग : सम्भाव्यता अध्ययन चाँडै

११ मंसिर, काठमाडौं । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू) लाई मूर्त रूप दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बसेको नेपाल-चीनका पदाधिकारीहरूको संयुक्त बैठकले यो सहमति गरेको गोरखापत्र दैनिकमा खबर छ । रेलमार्ग निर्माणका लागि छिट्टै विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बैठकका लागि उच्चस्तरीय चिनियाँ टोली सोमबार काठमाडौँ आइपुगेको हो ।

दुवै पक्षले हस्ताक्षर गरेको सहमतिमा विस्तृत सम्भाव्यता अध्ययनका क्रममा चिनियाँ पक्षले गर्नुपर्ने काम उल्लेख गर्नुका साथै नेपाली पक्षले गर्नुपर्ने सुरक्षाको व्यवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का बारेमा उल्लेख गरिएको छ ।

काठमाडौँपोखरालुम्बिनी रेलमार्ग सम्भव
चीन सरकारकै सहयोगमा निर्माण गर्ने भनिएको प्रस्तावित काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) कार्य सम्पन्न भएको छ । चीन सरकारले नै सो रेलमार्गको सम्भाव्यता अध्ययन गरेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) कार्य सम्पन्न भएको बताउँदै मंगलबारको बैठकमा चिनियाँ पक्षले सो अध्ययन प्रतिवेदन नेपाललाई बुझाएको जानकारी दिए । अध्ययन प्रतिवेदनले रेलमार्ग निर्माण सम्भव रहेको देखाएको बताउँदै उनले प्रतिवेदन अध्ययन गरी सोसम्बन्धी प्रतिवेदन तयार गरी नेपालले चीनलाई बुझाउने जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०७:२५