११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

माघसम्ममा रानीपोखरी तयार !

१० मंसिर, काठमाडौं । केही दिनदेखि उदयपुरका २७ वर्षीय नेत्र मगर रानीपाखेरीमा इँटा बिछ्याइरहेका छन् । विगत १० वर्षदेखि डकर्मीको रूपमा निर्माण क्षेत्रमा काम गरेका उनको सम्पदा निर्माण अनुभव भने फरक छ ।

‘अरूमा नक्सा हेरेर खुरुखुरु काम गर्न सकिन्थ्यो । यहाँ धेरै कुरा सोधेर, ध्यान पुर्‍याएर मात्र गर्नुपर्ने रहेछ,’ रानीपोखरी निर्माणको अनुभव सुनाउँदै मगरले भने ।

मगरजस्तै १० कामदारले बिहान ७ देखि बेलुका साढे ५ बजेसम्म काम गरिरहेका छन् । निकै सावधानी साथ परम्परागत प्रविधिबाट काम भइरहेको रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले बताए ।

केही दिनयता रानीपोखरीमा कालो माटो र माअप्पा अर्थात् ठूलो आकारको इँटा ओछ्याउने काम धमाधम भइरहेको गोरखापत्र दैनिकमा खबर छ । पोखरीको सबैभन्दा भित्री घेराको ५ फिट ४ इन्च पर्खाल यसअघि नै भक्तपुरका कामदारले पानी नचुहिने बनाइसकेका छन् ।

अहिले भने पोखरीको सतहमा कालो माटो र माअप्पा बिछ्याउने काम भइरहेको छ । ‘पहिले प्राकृतिक रूपमै पोखरीमा पानी जम्मा हुन्थ्यो । अहिले प्राकृतिक रूपमा पानी रिचार्ज नहुने भएकाले बाहिरबाट हालिएको पानी अड्याउन कालो माटोको सतह बनाउनुपरहेको हो,’ सचिव तुलाधरले भने ।

भक्तपुरको जनशक्तिले परम्परागत तरिकाबाट हातले माटो बिछ्याएर काम गरिरहेका थिए । हातले माटो ओछ्याउँदै काम गर्दा रानीपोखरीको निर्माण अवधि र लागत बढ्ने भन्दै उनीहरूलाई बिदाइ गरियो ।

त्यसपछि अहिले डोजरले माटो बोकेर राख्ने प्रविधि अपनाइएको छ । डोजरले मुछेर सतहमा राखेको माटो सम्याउने र मिलाउने काम भने कामदारले हातले नै गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : November 26, 2019 at 8:08 am