कहाँबाट आउँछन् अवैध हतियार ?
१० मंसिर, काठमाडौं । मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला पर्यो । त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा.१८च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद गर्यो । रेस्टुराँनजिकै पार्किङमा राखेको सन्दीपजंग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको छ ।
विशेष सुराकीका आधारमा हतियार बरामद भएका यी दुई घटना रहस्मय छन् । प्रहरीले कसैलाई ‘फसाउन’ षडयन्त्रपूर्ण ढंगले हतियार राखेको हो वा साच्चै सुराकी लगाएर अवैध हतियार बरामद गरेको हो, अनुसन्धान जारी छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइराला मेडिकल कलेज हतियार कान्डका विषयमा चारजना सुरक्षागार्डमाथि अनुसन्धान भइरहेको बताउँछन् । तर विद्यार्थीहरू भने आन्दोलन दबाउन हतियारको षड्यन्त्र रचेको आरोप लगाएको गोरखापत्र दैनिकमा खबर छ ।
नीलो रङको झोलाभित्र मेड इन यूएसए लेखिएको एकथान पेस्तोल, त्यसमा प्रयोग हुने गोली, म्यागजिन, एसएलआर हतियारमा प्रयोग भइसकेको गोलीको खोका छ राउन्ड र डेटोनेटर तार बरामद घटना आफैंमा रहस्यमय छ ।
प्रवेशद्वारमा सुरक्षागार्ड र चौरमा सीसी क्यामेरा हुँदा पनि प्रहरीले हतियार राख्ने व्यक्तिको पहिचान गर्न सकेको छैन । अज्ञात सुराकीले दिएको सूचनाका आधारमा झोलामा लुकाइराखेको हतियार बरामद गरेको प्रहरीले स्वीकारेको छ ।

त्यस्तै, नेपालगन्ज घटनामा पनि कारधनी सन्दीपजंगले दसैं-तिहारमा खसी उपहार नदिएको रिसमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले फसाउन हतियार लुकाइ दिएको आरोप लगाएका छन् ।
उक्त रहस्यमय घटनाका अभियुक्त सन्दीपजङ्गलाई जिल्ला अदालत बाँकेले पुर्पक्षाका लागि थुनामा पठाएको छ । खसी मागेको आरोप लागेका प्रहरी नायब उपरीक्षक शाहलाई विभागीय कारबाहीको सिफरिस भएको छ ।
प्रकाशित मिति : November 26, 2019 at 7:14 am







