११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

दूरगामी असरबाट बालबालिकालाई बचाउन सचेत गराउँदै लैजानुपर्छः प्रदेश प्रमुख प्यासी

९ मंसिर, विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दूरगामी असरबाट बचाउन बालबालिकालाई सचेत गराउँदै लैजानुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिकाको समस्या समाधान गर्नु सबैको दायित्वभित्र पर्छ भन्नुभयो ।

प्रदेश प्रमुख प्यासीले सामन्तवादी चिन्तनले बालबालिका जोखिममा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाले आमाको गर्भदेखि समाजका हरेक क्षेत्रमा सास्ती भोगिरहेको चर्चा गर्नुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर बालबालिका संरक्षण ऐन ल्याउन लागेको जानकारी दिँदै बाल संरचनाहरु विद्यालयमा मात्र होइन समुदायमा पनि केन्द्रित हुनुपर्छ भन्नुभयो ।

संयुक्त राष्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्स समारोहमा बालबालिको क्षेत्रमा उल्लेखनीय काम गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सोमबार सम्मान गर्दै प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी । तस्वीरः मोहम्मद सदरुल

उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको अधिकारका लागि स्थापना भएको सङ्घसंस्था सरकारसँग हातेमालो गरेर हिँड्नुपर्ने धारणा राख्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश योजना आयोगले विसं २०८१ भित्रमा बालश्रममुक्त प्रदेश बनाउन विभिन्न योजना बनाएको चर्चा गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले संविधानले बालअधिकारको पूर्ण रक्षा गरेकाले यसको व्याख्या स्थानीय तहसम्म हुनुपर्छ भन्नभयो । मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले बालबालिकाको उच्चतम हित र संरक्षणमा नेपाल प्रहरी सदैव तयार रहेकामा जोड दिनुभयो ।

संयुक्त राष्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धिको ३० औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२ औँ वार्षिकोत्स समारोहलाई सोमबार यहाँ सम्बोधन गर्दै प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी । तस्वीरः मोहम्मद सदरुल

सिविनका अध्यक्ष माधव मानन्धर र कार्यकारी निर्देशक सुम्निामा तुलाधरले यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको हित र संरक्षणमा लागि गरेको प्रस्ट पार्नुभयो । कार्यक्रममा पूर्वाञ्चल अनाथ आश्रमका सीता पोखरेल, बाल संरक्षण समूह बूढीगङ्गाका सुस्मिता क्रृषिदेव र सिविनका सदस्य डा गोविन्द सुवेदीले बालबालिका अधिकार स्थापित नहुन्जेल मुलुकमा समृद्धि नआउने बताउनुभयो ।

प्रकाशित मिति : November 25, 2019 at 5:29 pm