बहुविवाह गर्ने वडाध्यक्ष कान्छी श्रीमतीसँगै जेल चलान
९ मंसिर, रामेछाप । बहुविवाह गर्ने वडाध्यक्ष कान्छी श्रीमतीसँगै जेल चलान भएका छन् । रामेछापकाे मन्थली नगरपालिका -६ का वडाध्यक्ष गोपालबहादुर माझी जेल चलान भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका माझीसँगै उनकी कान्छी श्रीमती पनि २ वर्षका लागि जेल चलाए भएकी छिन् । बहुविवाहको मुद्दा खेपिरहेका उनिहरूलाई भक्तपुर जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद सापकोटाको एकल इजलासले २ वर्षको कैद फैसला सुनाएको हो । अदालतको फैसलापछि माझीको वडाध्यक्ष पद गुमेको छ ।

४ वर्षअघि कृष्णमाया माझीसँग मागी विवाह गरेका माझीले विवाह भएको केही समयपछि जेठी श्रीमतीलाई छाेडेर त्यहि वडाकै एक श्रेष्ठ थरकी विवाहित महिलासँग पुनः विवाह गरेका थिए । उनीहरु दुवै जना भक्तपुरमा कोठा भाडामा लिएर बस्दै आएको खबर जेठी श्रीमती कृष्णमायाले थाहा पाएपछि उनले प्रहरीमा बहुविवाहको उजुरी दिएकी हुन् ।
माझीकी कान्छी श्रीमतीका श्रीमान वैदेशिक रोजगारीमा गएको मौका छोपेर उनीहरु दुवै जना भक्तपुरमा कोठा भाडा लिएर बस्दै आएका थिए । कान्छी श्रीमतीको पहिलो श्रीमानतर्फ एक छोरा रहेका छन् । वैदेशिक रोजगारीबाट घर फर्किएका श्रीमानले श्रीमती र छोराको खोजी गर्दा नभेटेपछि उनले पनि प्रहरीमा निवेदन दिएका थिए ।
प्रकाशित मिति : November 25, 2019 at 1:41 pm









