बोक्सा-बोक्सीको आरोपमा गाउँ निकाला

९ मंसिर, दोलखा । दोलखा बिगु गाउँपालिका ५, स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन् । वडा ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतीलाई बोक्सा-बोक्सी आरोपसहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरूले गाउँ छाड्नुपरेको नेपाल समाचारपत्रमा खबर छ ।
५८ वर्षीय पीडित रत्नबहादुर श्रेष्ठले आफू र आफ्नो ५७ वर्षीया पत्नीलाई विगत ७/८ वर्षदेखि टोल सुधार समिति अध्यक्ष रत्ननारायण श्रेष्ठलगायतले बोक्सा-बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको तर आफूहरू निरीह भएकाले सहँदै आएको बताए ।
मंसिर १ गते भने टोल सुधार समितिको बैठकमा सहभागी १ सय १३ जनाले हस्ताक्षर गरी आफूहरूलाई सामाजिक बहिष्कार गरेपछि गाउँ छाड्न बाध्य हुनुपरेको रत्नबहादुरले गुनासो गरे । बैठकमा आफू, आफ्नी पत्नी र १४ वर्षीय छोरालाई समेत जबरजस्ती हस्ताक्षर गर्न लगाएको श्रेष्ठको गुनासो छ ।
प्रकाशित मिति : November 25, 2019 at 8:25 am







